काठमाडौं उपत्यकामा तारको गुजुल्टो हटाउने अभियान तीव्र, धेरै क्षेत्रमा अझै बाँकी छ फिनिसिङको काम

काठमाडौं उपत्यकामा तारको गुजुल्टो हटाउने अभियान तीव्र, धेरै क्षेत्रमा अझै बाँकी छ फिनिसिङको काम
Advertisement Ads

काठमाडौं उपत्यकाका प्रमुख शहरी क्षेत्रमा पोलमा अव्यवस्थित रूपमा रहेका तार व्यवस्थापन गर्ने अभियानले गति लिए पनि काम अझै पूर्ण हुन सकेको छैन। नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो अनुगमनमा अधिकांश रुटमा तार बन्डलिङ सम्पन्न भएको पाइए पनि खुला तार हटाउने, केबल लूप व्यवस्थापन गर्ने, सेवा प्रदायकको ट्याग राख्ने र फिनिसिङ सुधार्ने काम अझै बाँकी रहेको देखिएको छ।

अव्यवस्थित तारका कारण शहरी सौन्दर्यमा असर पर्नुका साथै आगलागी, दुर्घटना र सडक सुरक्षामा जोखिम बढ्ने भएपछि सरकारले तार व्यवस्थापन अभियान अघि बढाएको हो। पहिलो चरणमा त्रिपुरेश्वर–कलंकी–कालीमाटी, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–जमल–लाजिम्पाट, सामाखुसी–टाउन प्लानिङ–गोंगबु, कीर्तिपुर तथा पुरानो बानेश्वर–चाबहिल–गौशाला क्षेत्रलाई प्राथमिकतामा राखिएको छ।

अभियानको समन्वय र अनुगमनका लागि प्राधिकरणले जेठ २९ गते विशेष उपसमिति गठन गरेको थियो। उपसमितिमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, काठमाडौं महानगरपालिका, महानगरीय ट्राफिक प्रहरी कार्यालय, इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान), नेपाल टेलिकम र एनसेल आजियाटाका प्रतिनिधि छन्।

सेवा प्रदायकलाई आफ्ना तारमा पहिचान खुल्ने ट्याग राख्न र प्रयोगविहीन तार हटाउन प्राधिकरणले निर्देशन दिएको थियो। काममा अपेक्षित गति नदेखिएपछि प्रत्येक रुटका लागि ‘लिड अपरेटर’ र फोकल पर्सन तोकेर नियमित अनुगमनसमेत सुरु गरिएको थियो।

असार ३१ र साउन १५ गते सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा उच्चस्तरीय समीक्षा बैठक बसेपछि सेवा प्रदायकबीच जिम्मेवारी पुनः बाँडफाँट गरिएको थियो। परिमार्जित कार्ययोजनामा कुन कम्पनीले कुन क्षेत्रमा नेतृत्व गर्ने, कति पोल र दूरीमा काम गर्ने तथा कति जनशक्ति परिचालन गर्ने भन्ने विषय स्पष्ट गरिएको थियो।

प्राधिकरणका अनुसार जडीबुटी क्षेत्रमा बन्डलिङ सम्पन्न भए पनि फिनिसिङ कमजोर देखिएको छ। सेवा प्रदायकको पहिचान खुल्ने ट्याग पनि सीमित स्थानमा मात्रै राखिएको छ भने केही स्थानमा ‘केबल लूप’ बाँकी छन्।

पुरानो बानेश्वर क्षेत्रमा भने अवस्था तुलनात्मक रूपमा राम्रो देखिएको छ। अधिकांश खुला तथा लत्रिएका तार हटाइए पनि केही स्थानमा ट्याग छुटेका वा च्यातिएका छन्।

सामाखुसी क्षेत्रमा तार बन्डलिङ गरिएको भए पनि दृश्य पूर्ण रूपमा व्यवस्थित हुन सकेको छैन। ट्यागिङमा एकरूपता नदेखिनुका साथै लूप व्यवस्थापन र अन्तिम फिनिसिङमा सुधार आवश्यक रहेको अनुगमनले देखाएको छ। लाजिम्पाट–त्रिपुरेश्वर रुटमा पनि अधिकांश तार बन्डलिङ भए पनि केही खुला तार र अपूर्ण ट्यागिङ बाँकी छन्।

त्रिपुरेश्वर–कलंकी रुटमा भने अन्य क्षेत्रको तुलनामा राम्रो प्रगति भएको छ। अधिकांश क्षेत्रमा बन्डलिङ पूरा भएको र ट्यागिङ पनि व्यवस्थित रहेको प्राधिकरणले जनाएको छ। यद्यपि केही स्थानमा बन्डलभन्दा बाहिर खुला तार अझै देखिएका छन्। कीर्तिपुरमा पनि अधिकांश तार बन्डलिङ भए पनि खुला तार र सीमित ट्यागिङका कारण काम पूर्ण हुन सकेको छैन।

अनुगमनका क्रममा सबै रुटमा देखिएको साझा समस्या ‘केबल लूप’ रहेको प्राधिकरणले जनाएको छ। सेवा विस्तार वा मर्मतका लागि अतिरिक्त केबल राखिए पनि त्यसलाई व्यवस्थित नगर्दा बन्डलिङपछि पनि पोलको दृश्य अव्यवस्थित देखिने गरेको छ।

त्यस्तै, सबै तारमा सेवा प्रदायकको पहिचान खुल्ने ट्याग नहुँदा भविष्यमा बिग्रिएका वा प्रयोगविहीन तारको स्वामित्व पहिचान गर्न समस्या हुन सक्ने प्राधिकरणको निष्कर्ष छ। कतिपय स्थानमा ट्याग छुटेका तथा च्यातिएका समेत भेटिएका छन्।

अबदेखि बन्डलिङलाई मात्र प्रगतिको आधार नमान्ने प्राधिकरणले जनाएको छ। प्रत्येक रुटको अन्तिम निरीक्षण गरी खुला तार हटाउने, केबल लूप व्यवस्थित गर्ने, ट्यागिङ पूरा गर्ने र फिनिसिङ सुधार्नुपर्नेमा प्राधिकरणले जोड दिएको छ।

दीर्घकालीन रूपमा समस्या समाधान गर्न साझा पूर्वाधार र भूमिगत युटिलिटी डक्टको व्यवस्था आवश्यक रहेको प्राधिकरणको सुझाव छ। नयाँ तार थपिँदै जाने तर पुराना तथा प्रयोगविहीन तार समयमै नहटाउने प्रवृत्ति अन्त्य गर्न नियमित अनुगमन र स्पष्ट जिम्मेवारीसहितको दीर्घकालीन प्रणाली आवश्यक रहेको प्राधिकरणले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स