दुई समूहबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँच संवेदनशील बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार साउन ११ गते बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्म हरिनगर, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा कर्फ्यु लागू गरिएको हो।
कर्फ्यु आदेशअनुसार हरिनगर बजार क्षेत्रमा पूर्वमा नुनियाटोल, पश्चिममा पश्चिम खुनिया धार, उत्तरमा हरिनगर गाउँपालिका कार्यालय र दक्षिणमा वसन्तपुर मोडसम्मको क्षेत्र समेटिएको छ।
भुटाहा बजार क्षेत्रमा पूर्वमा मोरिया धार खोला, पश्चिममा इदगाह फिल्ड, उत्तरमा सुनसरी खोला र दक्षिणमा हरिनगर गाउँपालिका कार्यालयसम्म कर्फ्यु लागू गरिएको छ।
यस्तै कप्तानगञ्ज बजार क्षेत्रमा पूर्वमा यादव टोल, पश्चिममा सिमल माध्यमिक विद्यालय, उत्तरमा कृष्ण माध्यमिक विद्यालय र दक्षिणमा नेपाल–भारत सीमासम्म कर्फ्यु आदेश जारी गरिएको छ।
घुस्की बजार क्षेत्रमा पूर्वमा कासमिया मदरसा, पश्चिममा प्रहरी चौकी घुस्की, उत्तरमा इशा हार्डवेयर र दक्षिणमा हिलाल पब्लिक स्कुलसम्म तथा देवानगञ्ज बजार क्षेत्रमा पूर्वमा विराटनगर जाने सडकस्थित मुसहर टोल, पश्चिममा मोरिया खोला, उत्तरमा चिउरा मिल र दक्षिणमा गाउँपालिका कार्यालय क्षेत्रभित्र कर्फ्यु लागू गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिएका छन्।
जिल्ला प्रशासन कार्यालयले कर्फ्यु अवधिभर अत्यावश्यक सेवाबाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन तथा सुरक्षा निकायले जारी गर्ने निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेको छ।

प्रतिकृया