नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले विद्यार्थी संगठन खारेज गर्ने सरकारी नीतिको विरोधमा जारी आन्दोलनप्रति पार्टीको समर्थन रहेको बताएका छन्।
उनले विद्यार्थी संगठनहरूले गरेको विरोध कार्यक्रमप्रति ऐक्यबद्धता जनाउँदै आन्दोलनलाई थप सशक्त बनाउँदै अघि बढ्न सुझाव दिएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत उनले सरकारले लिएको यस्तो नीति निरङ्कुश प्रवृत्तिको संकेत भएको टिप्पणी गरेका छन्। विप्लवका अनुसार विद्यार्थी संगठनहरू सचेतना, खबरदारी, न्याय, विद्रोह र अग्रगमनका प्रमुख वाहक हुन्।
उनले नेपालको राजनीतिक परिवर्तनमा विद्यार्थीहरूको भूमिका ऐतिहासिक रहेको उल्लेख गर्दै उनीहरूलाई दबाउने प्रयास गलत हुने चेतावनी पनि दिएका छन्।
साथै, उनले परिवर्तन र वर्तमान सरकार निर्माणमा योगदान दिएका शक्तिहरूलाई नै कमजोर बनाउन खोजिए त्यसको परिणाम गम्भीर हुन सक्ने चेतावनी दिँदै भने, ‘त्यस्ता आधारलाई कमजोर पार्ने प्रयासले अन्ततः सरकारकै जरो कमजोर पार्न सक्छ।’
















प्रतिकृया