फेसबुकले कसरी कमाउँछ पैसा? २०२४ मा कति कमायो?

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १० गते
फेसबुकले कसरी कमाउँछ पैसा? २०२४ मा कति कमायो?

फेसबुकको मातृ कम्पनि मेटाले सन् २०२४ मा १६५ अर्ब डलर कमाएको छ । विज्ञापनको व्यापारसुधार भएसंगै कम्पनीको नाफा बढेको हो। अघिल्लो वर्ष कम्पनीले १३४ अर्ब डलर आम्दानी गरेको थियो।
कम्पनीले कुल आम्दानीको ९९% हिस्सा विज्ञापनबाट कमाएको छ, जबकि बाँकी १% मात्र एआर डिभिजन ‘रियालिटी ल्याब्स’बाट आएको भिजुअल क्यपिटलिस्टले जनाएको छ। फेसबुक, इन्स्टाग्राम, र म्यासेन्जरजस्ता प्लेटफर्महरूमार्फत मेटाले डिजिटल विज्ञापन व्यवसायलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको छ। कम्पनीको आम्दानीको प्रमुख हिस्सा विज्ञापनबाट आउने भएकाले, यसले लक्षित विज्ञापन प्रणालीलाई निरन्तर सुधार गर्दै लगानीकर्ताहरू र विज्ञापनदाताहरूका लागि अझ आकर्षक बनाइरहेको छ।

फेसबुकले आफ्नो प्लेटफर्म प्रयोग गर्ने तीन अर्बभन्दा बढी मानिसहरूको डेटा संकलन गरेर विज्ञापनदाताहरूलाई लक्षित ग्राहक समूह पहिचान गर्न मद्दत गर्छ। प्रयोगकर्ताको रुचि, खोजी व्यवहार, लोकेसन, र संलग्नताको आधारमा विज्ञापन देखाइने भएकाले व्यवसायहरूले सही ग्राहकसम्म पुग्न फेसबुकलाई ठूलो रकम तिर्ने गरेका छन्।बिगत केही वर्षमा चिनियाँ ई-कमर्स कम्पनीहरू टेमू र शिन जस्ता ब्रान्डहरूले फेसबुक विज्ञापनमा उल्लेखनीय लगानी गरेका छन्। यी कम्पनीहरूले फेसबुकको विशाल प्रयोगकर्ता आधारलाई उपयोग गरेर आफ्नो उत्पादनहरूलाई विश्वभर प्रवर्द्धन गरिरहेका छन्, जसले मेटाको विज्ञापन आम्दानीलाई थप वृद्धि गरेको छ।

मेटाले २०२४ मा विज्ञापनबाट १६२.४ अर्ब डलर आम्दानी गरेको छ। कम्पनीले अझ प्रभावकारी विज्ञापन टार्गेटिङको माध्यमबाट विज्ञापनको मूल्य बढाउँदै नयाँ उच्चतम आम्दानीको स्तरमा पुग्न सफल भएको छ। तर, यसको रियालिटी ल्याब्स डिभिजनले भने १७.७ अर्ब डलरको घाटा व्यहोरेको छ, जसले २०२० देखि अहिलेसम्म ६० अर्ब डलरभन्दा बढी घाटा सामना गरिसकेको छ।क्षेत्रीय रूपमा हेर्दा मेटाले सबैभन्दा धेरै आम्दानी अमेरिका र क्यानडाबाट गरेको छ, जहाँ कुल आम्दानीको ३८% हिस्सा रहेको छ। यस क्षेत्रको आम्दानी १८% वृद्धि भई ६३.२ अर्ब डलर पुगेको छ। एसिया-प्रशान्त क्षेत्रमा पनि ४५ अर्ब डलर आम्दानी भएको छ, जसमा २२% वृद्धि देखिएको छ। युरोप र अन्य क्षेत्रहरूको आम्दानी क्रमशः २६% र ३१% ले बढेको छ।

भविष्यका योजनाहरूलाई ध्यानमा राख्दै, मेटाले २०२४ मा ३९.२ अर्ब डलर पूंजीगत खर्च गरेको छ र आगामी वर्षमा यो रकम बढाएर ६५ अर्ब डलरसम्म पुर्याउने योजना बनाएको छ। कम्पनीले आफ्नो एआई-आधारित विज्ञापन कारोबारलाई थप मजबुत बनाउन डेटा सेन्टरहरूको निर्माण प्रक्रिया अघि बढाइरहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स