असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह
Advertisement Ads

प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

मौसम विज्ञान विभागका अनुसार उक्त अवधिमा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। यस्तै, कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

मौसम प्रणालीको प्रभावका कारण गण्डकी प्रदेशको पोखरा आसपास, लुम्बिनीको पहाडी तथा तराई क्षेत्र, कोशी प्रदेशको ताप्लेजुङलगायत हिमाली भूभाग, बागमती प्रदेशको पहाडी क्षेत्र, कर्णाली प्रदेशको जुम्ला आसपास तथा सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिम रहेको जनाइएको छ।

सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा डुबानसँगै सडक र हवाई यातायातमा समेत अवरोध हुन सक्ने भएकाले प्रधानमन्त्री शाहले नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।

पानी परिरहेको समयमा तथा रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न, पहिरो तथा बाढीको जोखिम भएका क्षेत्र र नदी तथा खोलानजिक विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

त्यस्तै, ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाएका व्यक्तिलाई मौसममा सुधार नभएसम्म यात्रा स्थगित गर्न वा पुनर्विचार गर्न अनुरोध गरिएको छ।

मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचनाहरू नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न पनि आग्रह गरिएको छ।

सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन आग्रह गर्दै प्रधानमन्त्री शाहले सम्पूर्ण नागरिकलाई सुरक्षित रहन र सचेत बन्न अनुरोध गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स