नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भोलि असोज ८ देखि १२ गतेसम्म देशभर भारी वर्षा, बाढी तथा पहिरोको जोखिम रहने पूर्वानुमानलाई ध्यानमा राख्दै सार्वजनिक तथा मालवाहक सवारी सञ्चालनमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
महासंघले बुधबार सूचना जारी गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम विज्ञान विभागले जारी गरेको पूर्वसूचनाका आधारमा सदस्य संघ, समिति, कम्पनी, प्रालि, पर्यटक तथा सहकारी संस्थालाई सेवा सञ्चालन गर्नुअघि सडक तथा मौसमको अवस्था अनिवार्य रूपमा जानकारी लिन अनुरोध गरेको हो।
महासंघका अनुसार उक्त अवधिमा सार्वजनिक यात्रुवाहक तथा मालवाहक सवारी सञ्चालन गर्दा स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित निकायसँग समन्वय गरेर मात्रै सेवा सञ्चालन गर्नुपर्नेछ। चालक, सहचालक तथा बुकिङ कर्मचारीलाई पनि सम्भावित जोखिमबारे पूर्वजानकारी गराउन आग्रह गरिएको छ।
महासंघले अत्यावश्यक कामबाहेक टाढाको तथा रातिको यात्रा नगर्न सर्वसाधारणलाई अपिल गरेको छ। साथै, जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न आग्रह गरेको छ।
जिल्ला सुरक्षा समिति, स्थानीय तह तथा सुरक्षा निकायले जोखिममा रहेका बस्तीका नागरिकलाई आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्न पनि महासंघले अनुरोध गरेको छ।
त्यस्तै, बाढी आउन सक्ने खोला, खहरे तथा नदी किनार र पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्क रहन महासंघले आग्रह गरेको छ।
महासंघले वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता माग्न १२३४, नेपाल प्रहरीको हटलाइन १०० तथा सशस्त्र प्रहरी बल नेपालको हटलाइन १११४ मा सम्पर्क गर्न आग्रह गरेको छ।
साथै, मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान तथा चेतावनी नियमित रूपमा हेर्न पनि महासंघले अनुरोध गरेको छ।

प्रतिकृया