जलविद्युत आयोजनाको आईपीओमा सुरक्षाकर्मीलाई २ प्रतिशत हिस्सा दिने कानुनी प्रक्रिया अघि बढ्यो

जलविद्युत आयोजनाको आईपीओमा सुरक्षाकर्मीलाई २ प्रतिशत हिस्सा दिने कानुनी प्रक्रिया अघि बढ्यो
Advertisement Ads

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विपद्को समयमा अहोरात्र खटिने सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनाको प्राथमिक सेयर (आईपीओ) मा २ प्रतिशत हिस्सा सुनिश्चित गर्ने कानुनी प्रक्रिया अघि बढाइएको बताएका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले सुरक्षाकर्मीले कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका बाबजुद खोज तथा उद्धार कार्यमा खेलेको भूमिकाको उच्च कदर गर्दै उनीहरूलाई जलविद्युत आयोजनाको स्वामित्वमा सहभागी गराउने नीतिगत निर्णय लिइएको जानकारी दिएका हुन्।

उनले सुरक्षाकर्मीको समर्पण र राष्ट्रप्रतिको उच्च दायित्वबोधलाई सम्मान गर्दै जलविद्युत आयोजनाको आईपीओमा उनीहरूका लागि २ प्रतिशत हिस्सा सुनिश्चित गर्ने कानुनी प्रक्रिया अघि बढेको स्पष्ट पारे।

मन्त्री श्रेष्ठले भोटेकोशी विपत्तिका क्रममा मन्त्रालयअन्तर्गतका निकाय, नेपाल विद्युत प्राधिकरण, सिँचाइ विभाग तथा जल तथा मौसम विज्ञान विभागका कर्मचारीले गरेको समन्वयकारी भूमिकाको समेत प्रशंसा गरे।

विपद्बाट भएको क्षतिले भविष्यका लागि गम्भीर पाठ सिकाएको बताउँदै उनले भने, ‘हामीले क्षतिको लेखाजोखा गर्नुका साथै भविष्यमा यस्ता जोखिम न्यूनीकरण गर्न सक्ने प्रविधि र संरचना निर्माण गर्नुपर्ने आवश्यकता छ।’

भविष्यमा निर्माण हुने जलविद्युत आयोजनालाई विपद् प्रतिरोधी बनाउन सुरक्षा मापदण्डलाई उच्च प्राथमिकतामा राखेर योजना तर्जुमा गर्न मातहतका निकायलाई कडा निर्देशन दिइएको पनि मन्त्री श्रेष्ठले जानकारी दिए।

यसैबीच, मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालमा पुनः भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै मन्त्री श्रेष्ठले सचेत रहन आग्रह गरेका छन्।

उनले विशेषगरी मध्य तथा पश्चिम नेपालका साथै हालै बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा उच्च सतर्कता अपनाउन र मौसमी सूचनाको नियमित अनुगमन गर्न मातहतका निकायलाई निर्देशन दिइसकेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स