सातामा दुई दिन सार्वजनिक बिदा लागू भएपछि सरकारले वर्षभरि कायम रहेका अन्य सार्वजनिक बिदाको पुनरावलोकन प्रक्रिया अघि बढाएको छ। यसका लागि १५ दिनभित्र अध्ययन प्रतिवेदन पेश गर्ने गरी उच्चस्तरीय अध्ययन कार्यदल गठन गरिएको छ।
सोमबार मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको सचिव बैठकले सार्वजनिक बिदाको समीक्षा गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो। गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठन गरिएको कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा अर्थ मन्त्रालयका प्रतिनिधि सदस्य रहनेछन्।
सचिव बैठकले कुल २२ वटा निर्णय गर्दै कार्यदललाई सार्वजनिक बिदाको पुनरावलोकन सम्बन्धी अध्ययन गर्ने कार्यादेश दिएको छ। कार्यदलले १५ दिनभित्र अध्ययन सम्पन्न गरी आफ्नो प्रतिवेदन गृह मन्त्रालयमा बुझाउनुपर्नेछ।
सरकारले शनिबार र आइतबार गरी सातामा दुई दिन सार्वजनिक बिदा लागू भइसकेपछि विद्यमान सार्वजनिक बिदाको संख्या धेरै भएको निष्कर्ष निकालेको छ। वर्षभरि चाडपर्व तथा विभिन्न दिवसका अवसरमा दिइने बिदाका कारण सरकारी कार्यालय लामो समय बन्द हुँदा नागरिकले पाउने सेवा प्रभावित हुने अवस्थालाई समेत अध्ययनको आधार बनाइने बताइएको छ।
कार्यदलको प्रतिवेदनका आधारमा आगामी वर्षको सार्वजनिक बिदा क्यालेन्डरमा केही विद्यमान बिदा घटाउने वा परिमार्जन गर्ने विषयमा निर्णय हुन सक्ने तयारी गरिएको छ।
यस्तै, सचिव बैठकले चालु आर्थिक वर्षका लागि विनियोजित बजेट तथा कार्यक्रम तोकिएको समय, लागत र गुणस्तरमा सम्पन्न गर्न तत्काल बजेट कार्यान्वयन तालिका तयार गर्ने निर्णय पनि गरेको छ। सोही तालिकाका आधारमा आर्थिक वर्षको सुरुदेखि नै सार्वजनिक खरिद प्रक्रिया अघि बढाइने निर्णयमा उल्लेख गरिएको छ।

प्रतिकृया