प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसँग भएको छलफलमा उनले महिला उद्यमीका व्यवधान हटाउँदै उनीहरूले उत्पादन गरेका वस्तुको प्रवर्द्धन प्रमुख पर्यटकीय स्थलहरूमा गर्ने वातावरण मिलाइने बताएका हुन्।
छलफलका क्रममा महासंघले व्यवसायमैत्री वातावरण निर्माण, वस्तु तथा सेवालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउन विशेष कार्यक्रम, व्यापार मेला, प्रदर्शनी, बि टु बी (बिजनेस म्याचिङ) र निर्यात प्रवर्द्धनमा अनिवार्य सहभागिताको व्यवस्था गर्न आग्रह गरेको थियो। साथै, महासंघले अघि सारेको ‘म उद्यमी’ ट्रेडमार्क ब्रान्डलाई बजारमा स्थापित गर्न सहयोगको माग गरेपछि प्रधानमन्त्री शाहले उक्त ब्रान्डलाई तत्काल बजारमा ल्याउन प्रोत्साहन दिएका छन्।
महासंघले वार्षिक अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा सरकारको संस्थागत सहकार्य, सार्वजनिक खरिदमा महिला उद्यमीलाई प्राथमिकता तथा सरकारी कार्यालय र शैक्षिक संस्थाबाट महिला उद्यमीका वस्तु तथा सेवा खरिदको व्यवस्था गर्न पनि आग्रह गरेको छ।
प्रतिनिधिहरूले वित्तीय सहुलियत वास्तविक महिला उद्योगीसम्म नपुगेको उल्लेख गर्दै सहुलियत गाउँ–गाउँसम्म विस्तार, वैकल्पिक धितो व्यवस्था र नीति निर्माणका सबै तहमा महासंघको सहभागिता सुनिश्चित गर्न माग गरेका थिए। स्थानीय तहमा सीपमूलक तालिम सञ्चालनका लागि दक्ष स्रोत व्यक्ति उपलब्ध गराउने प्रतिबद्धता पनि महासंघले जनाएको छ। छलफलपछि प्रतिनिधिहरूले आफ्ना मागमा सरकारले तत्काल पहल सुरु गरेको भन्दै प्रधानमन्त्रीप्रति कृतज्ञता व्यक्त गरेका छन्।

प्रतिकृया