दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले लिलामी प्रक्रियाबाट सर्वसाधारण समूहतर्फको लकइनमा नरहेका ९३ हजार ६२९ कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा ल्याएको छ।
यसअघि कम्पनीले १ बराबर १ को अनुपातमा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो। सोमध्ये १९ लाख ४६ हजार ६७६ कित्ता मात्रै बाँडफाँड भएपछि बाँकी रहेका सेयरहरू जेठ ११ देखि २० गतेसम्म लिलामी प्रक्रियाबाट बिक्री गरिए पनि तीमध्ये ९३ हजार ६२९ कित्ता सेयर बाँकी रहेको कम्पनीले जनाएको छ।
उक्त बाँकी सेयरहरू हाल पुनः लिलामीमार्फत बिक्री गर्न लागिएको हो। यसअघि लिलामी हुँदा लकइनमा नरहेका सेयरहरूको कट अफ मूल्य २७० रुपैयाँ कायम भएको थियो। अहिले भने कम्पनीले सोही सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ, जसमा इच्छुक जोकोहीले आवेदन दिन सक्नेछन्।
आवेदन दिन चाहनेहरूले कम्तीमा १०० कित्तादेखि अधिकतममा सम्पूर्ण बाँकी कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति असार ३२ गतेसम्म रहेको छ।
आवेदन फाराम सानिमा क्यापिटलको मुख्य कार्यालय नक्सालमा तथा सानिमा बैंकका विराटनगर, विर्तामोड, वीरगञ्ज, जनकपुर, भरतपुर, हेटौंडा, पोखरा (न्यूरोड), बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर शाखा र गरिमा विकास बैंकको बाग्लुङ्ग शाखामा उपलब्ध हुनेछ।














प्रतिकृया