छ्याङ्दी हाइड्रोपावर लिमिटेडले आज (साउन १४ गते)देखि २ लाख ९८ हजार ८३२ कित्ता हकप्रद सेयर लिलामी बिक्री खुला गरेको छ। कम्पनीले यसअघि जेठ २३ देखि असार २७ गतेसम्म हकप्रद सेयर निष्काशन गरेको थियो। सो अवधिमा आवेदन नपरेका बाँकी सेयरहरू अब लिलामीमार्फत बिक्री गरिँदैछ।
लिलामीमा सहभागी हुन चाहनेले न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ दरले आवेदन दिन सक्नेछन्। न्यूनतम १०० कित्ताबाट आवेदन सुरु गर्नुपर्नेछ र सोभन्दा बढी आवेदन दिन चाहनेले १० को गुणा हुने संख्यामा वा सबै बाँकी कित्ताका लागि पनि आवेदन दिन सक्नेछन्। त्यसैले सहभागी हुन कम्तिमा १० हजार रुपैयाँको लगानी आवश्यक हुनेछ। आवेदन अवधि साउन १४ गतेदेखि २१ गतेसम्म कायम रहनेछ।
यस लिलामीमा कम्पनीका संस्थापक सेयरधनी, सर्वसाधारण, कम्पनी, संघसंस्थासहित सबै इच्छुक व्यक्तिहरूले आवेदन दिन सक्नेछन्।
उपत्यकामा बसोबास गर्नेले आवेदन फाराम बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड, काठमाडौं, नक्सालस्थित कार्यालयबाट प्राप्त गर्न सक्नेछन्। उपत्यका बाहिरका लागि भने ग्लोबल आइएमई बैंकका विर्तामोड, हनुमानदास रोड–विराटनगर, जनकपुर, आदर्शनगर–वीरगंज, हेटौंडा, नारायणगढ, नूरोड–पोखरा, मिलनचोक–बुटवल, बाग्लुङ, त्रिभुवनचोक–नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखा कार्यालयहरूबाट फाराम प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।

















प्रतिकृया