फरेक्स रेजर्भ हाल सम्मकै उच्च, १७ महिनासम्मको आयात धान्न सक्ने स्थिति

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख २८ गते
फरेक्स रेजर्भ हाल सम्मकै उच्च, १७ महिनासम्मको आयात धान्न सक्ने स्थिति

नेपालको विदेशी विनिमय सञ्चिति हाल सम्मकै उच्च २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१ को चैत मसान्तसम्मको ‘वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार, विदेशी मुद्राको सञ्चिति अघिल्लो वर्षको तुलनामा १८.९ प्रतिशतले बढेको हो।

गत असार मसान्तमा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेकोमा, चालु वर्षको चैत मसान्तसम्ममा यो २४ खर्ब नाघेको देखिएको हो। अमेरिकी डलरमा हेर्दा, सञ्चिति १५ अर्ब २७ करोडबाट बढेर १७ अर्ब ६३ करोड पुगेको छ, जुन १५.४ प्रतिशत वृद्धि हो।

राष्ट्र बैंकको तथ्यांकअनुसार, कुल सञ्चितिमध्ये राष्ट्र बैंक आफैंसँग रहेको विदेशी मुद्राको हिस्सा उल्लेखनीय रूपमा बढेको छ। असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेको सञ्चिति चैत मसान्तसम्म १५.६ प्रतिशतले बढेर २१ खर्ब ३६ अर्ब ४६ करोड पुगेको हो।

यता, बैंक तथा वित्तीय संस्थाहरू (राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब ९० अर्ब ३८ करोड रुपैयाँ पुगेको छ, यद्यपि यो अघिल्लो वर्षको तुलनामा ५०.८ प्रतिशतले कम हो।

चैत मसान्तसम्मको तथ्यांकअनुसार, कुल सञ्चितिमा भारतीय मुद्राको हिस्सा २०.४ प्रतिशत रहेको छ। राष्ट्र बैंकको मूल्यांकनअनुसार, हालको सञ्चितिले १७.१ महिनासम्मको वस्तु आयात तथा १४.२ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने जनाएको छ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स