अर्थमन्त्री पौडेलले भने: “समस्या थपिए जिम्मा म लिन्छु, राम्रो भएको भए त्यसको जस सरकारलाई चाहिँदैन”

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १६ गते
अर्थमन्त्री पौडेलले भने: “समस्या थपिए जिम्मा म लिन्छु, राम्रो भएको भए त्यसको जस सरकारलाई चाहिँदैन”

अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अन्तर्राष्ट्रिय साख मूल्यांकनबाट पाएको नतिजालाई नेपालको लागि गर्वको विषय बताएका छन्। शनिबार साँझ नेपाल आर्थिक पत्रकार समाजको कार्यक्रममा बोल्दै उनले नेपाल दक्षिण एसियामा भारतपछि दोस्रो स्थानमा रहेको उल्लेख गर्दै यस सम्भावनालाई ठोस नतिजामा रूपान्तरण गर्न आवश्यक रहेको बताए।

पौडेलले सरकारप्रति आलोचनाको अर्थ समाधान खोज्नु हुनुपर्ने भन्दै निरपेक्ष आलोचना नगर्न सुझाव दिए। उनले भने, “यो सरकार बनेदेखि अर्थतन्त्रमा समस्या थपिएका छन् भने त्यसको जिम्मा म लिन्छु। राम्रो भएको भए त्यसको जस यस सरकारलाई चाहिँदैन।”

उनले सरकारलाई गम्भीर समस्याहरूको चाङ बिरासतमा प्राप्त भएको बताउँदै, चुनौतीपूर्ण परिस्थितिमा पनि सकारात्मक सुधारको संकेत देखिएको दाबी गरे।

पौडेलले निजी क्षेत्रको मनोबल वृद्धि गर्न व्यवसायमैत्री वातावरण आवश्यक रहेको र राजनीतिक अस्थिरता त्यसमा मुख्य बाधक रहेको बताए। उनले भने, “राजनीतिक अस्थिरताले मुलुकलाई संकटग्रस्त बनाउँछ। त्यस अवस्थामा अर्थतन्त्रका ठूला समस्या समाधान गर्न सक्दैनौं।”

उनका अनुसार संसदले जनताको इच्छाअनुसार निर्माण भए पनि स्थिर सरकार दिन नसकेको स्थिति छ। पौडेलले यो सरकारले स्थिरताको आवश्यकता महसुस गर्दै गठन भएको र यो संसदले बनाउन सक्ने सबैभन्दा सशक्त सरकार यही भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स