नेपाल पत्रकार महासङ्घले प्रेस स्वतन्त्रता हननका घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गर्न नेपाल सरकारसँग आग्रह गरेको छ। महासङ्घका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सोमबार गृहमन्त्री रमेश लेखकलाई भेटेर यो माग गरेको हो।
महासङ्घले गृहमन्त्रीलाई बुझाएको पत्रमा सुनसरीस्थित धरानका पत्रकार गोपाल दाहाललाई समाचार लेखेकै कारण गालीगलौज, धम्की, र थप समाचार लेख्न नदिनेसम्मका हर्कत भएको तर दोषीमाथि कुनै कारबाही नगरिनुले राज्यको प्रेस स्वतन्त्रताप्रतिको दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाएको उल्लेख छ।
पत्रमा महासङ्घले दाहालसँग सम्बन्धित घटनाको स्थलगत अध्ययन गर्न गठन गरिएको मिसनले तयार पारेको प्रतिवेदनका आधारमा दोषीलाई तत्काल कानुनी कठघरामा उभ्याउन र प्रेस स्वतन्त्रताप्रति सरकारको प्रतिबद्धतालाई व्यवहारमा उतार्न आग्रह गरेको छ। महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित पत्रमा धरानका मेयर हर्क साम्पाङ र उनका समर्थकहरूले पत्रकार दाहाललाई समाचार लेखेकै कारण ज्यान मार्ने धम्की दिएको विषय समेत समेटिएको छ।
मिसनको प्रतिवेदनले मेयर साम्पाङले सुरु गरेको श्रमदान अभियान सकारात्मक भए पनि सो अभियानबाट सङ्कलित रकम उपमहानगरपालिकाको खातामा नभई निजी खातामा राखी खर्च गरिएको र यसले स्थानीय सरकारको आर्थिक कारोबारमा पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको उल्लेख गरेको छ। राज्य संयन्त्रले यसबारे छानबिन गर्नुपर्ने पनि प्रतिवेदनले औंल्याएको छ।
पत्र बुझेसँगै गृहमन्त्री लेखकले महासङ्घको मागप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको आश्वासन दिएका छन्।















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)


प्रतिकृया