नेपालमा बैंकिङ प्रणालीमा अधिक तरलता (excess liquidity) थुप्रिँदै गएपछि नेपाल राष्ट्र बैंकले फेरि निक्षेप संकलन उपकरणमार्फत बजारबाट पैसा तान्ने भएको छ। केन्द्रीय बैंकले आज (वैशाख ३० गते) ४० अर्ब रुपैयाँ बराबरको तरलता बैंकिङ प्रणालीबाट खिच्ने तयारी गरेको हो। यसका लागि दिउँसो ३ बजे बोलकबोल (auction) हुने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले कम्तीमा १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल ब्याजदरमा आधारित हुनेछ भने बहुब्याजदरमा पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
यो निक्षेप संकलन उपकरणमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागी हुन पाउनेछन्। २१ दिने अवधिका लागि जारी गरिएको यस उपकरणको साँवा तथा ब्याज असार १० गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
पछिल्लो समय कर्जाको माग अपेक्षाकृत रूपमा नबढेपछि बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएको छ। परिणामस्वरूप बैंक तथा वित्तीय संस्थाहरू न्यून ब्याजदर (करिब ३ प्रतिशतको हाराहारी) मै केन्द्रीय बैंकमा पैसा राख्न बाध्य भइरहेका छन्।




















प्रतिकृया