चौधरी समूह (CG) का प्रबन्ध निर्देशक निर्वाण चौधरीले अराजक आक्रमणबाट कम्पनीलाई पुगेको क्षति बीच पनि संस्था अझ सबल भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
युवाहरूको जवाफदेहीपन र परिवर्तनको मागसहित सुरु भएको आन्दोलनलाई अराजक तत्व र बाह्य शक्तिहरूले हिंसात्मक रूप दिँदा चौधरी परिवार प्रत्यक्ष प्रभावित भएको थियो। यस क्रममा अध्यक्ष विनोद चौधरीलाई व्यक्तिगत रूपमा निशाना बनाइएको, पारिवारिक घर, कारखाना, कार्यालय र सोरुमहरूमा आक्रमण भएको निर्वाण चौधरीले लेखेका छन्।
यस्तो छ निर्वाण चौधरीले सिजी परिवारलाई लेखेको पत्र
(नेपालीमा अनुवाद गरिएको)
पछिल्ला केही दिन हाम्रो कम्पनीको इतिहासमै सबैभन्दा पीडादायी बनेका छन्।
जवाफदेही र परिवर्तनको माग गर्दै सुरु भएको युवाहरूको आन्दोलनको उद्देश्य राम्रै थियो। तर अराजक तत्व र बाह्य शक्तिहरू मिसिएपछि त्यो आन्दोलन हिंसा, लुटपाट र विनाशमा परिणत भयो। शान्तिपूर्ण ढंगले समृद्ध नेपालको आह्वान हुनुपर्ने कुरा अराजकताले ढाक्यो।
हामीले असाध्यै क्रूर दृश्य देख्यौं। हाम्रो अध्यक्ष (विनोद चौधरी) व्यक्तिगत रूपमा निशाना बनाइए। पारिवारिक घरमा आक्रमण र आगजनी भयो। कारखाना र कार्यालय तोडफोड भए, शोरूमहरू लुटिए। दशकौँको मेहनत, त्याग र प्रतिबद्धता केही घण्टामै खरानीमा परिणत भयो। यो केवल सम्पत्तिमाथिको आक्रमण थिएन—यो हाम्रो आशा, विश्वास र राष्ट्रका लागि केही अर्थपूर्ण बनाउन सक्ने यात्रामाथिको प्रहार थियो।
तर अँध्यारा घडीमै सीजीको वास्तविक आत्मा उजागर भयो। आगो र अराजकतामाझ पनि हाम्रा नेता, प्रबन्धक र कर्मचारीहरूले आफ्नै सुरक्षाको पर्वाह नगरी दिनरात मेहनत गरे। जति सकिन्छ सम्पत्ति जोगाए, ग्राहकप्रतिको वाचा पूरा गरे। आगो दन्किँदै गर्दा पनि उनीहरूले हार मानेनन्।
सबै कुरा भत्किँदा पनि दृढ भएर उभिनु हुने तपाईंहरूलाई म सलाम गर्छु। तपाईंहरूले प्रमाणित गर्नुभयो—सीजी केवल कम्पनी मात्र होइन, यो निष्ठा, साहस र दृढताले बाँधिएको परिवार हो। तपाईंहरूको कारण ग्राहकलाई हामीले कहिल्यै छाडेनौं। तपाईंहरूको कारण आशा अझै बाँकी छ। र उचित समय आउँदा तपाईंहरूको त्याग र योगदानलाई हामी सबै मिलेर सम्मान गर्नेछौं।
हो, हामी घाइते छौं। हो, हामी हल्लिएका छौं। तर हामी भाँचिएका छैनौं।
भवन जलाउन सकिन्छ तर सपना जलाउन सकिँदैन।
शोरूम लुट्न सकिन्छ तर मूल्य र सिद्धान्त लुट्न सकिँदैन।
हामीलाई कमजोर बनाउन सकिन्छ तर हाम्रो परिवारको एकता भंग गर्न सकिँदैन।
हामीले पनि सम्झनुपर्छ—हामी को हौं।
चौधरी समूह नेपालको ठूलो करदातामध्ये एक हो, ठूलो रोजगारदातामध्ये एक हो, र राष्ट्र निर्माणमा सधैं अगाडि उभिएको हो। भूकम्प, बाढी वा महामारी—हरेक संकटमा हामी जनताको सेवामा छौं। त्यो जिम्मेवारी अझै पनि बाँकी छ, त्यो उद्देश्य हराएको छैन।
हामी पुनः उठ्नेछौं। हामी पुनर्निर्माण गर्नेछौं। र पहिलेभन्दा अझ बलिया भएर अघि बढ्नेछौं। यो विपत्तिबाट नयाँ शक्ति, नयाँ विचार र नेपालप्रति अझ गहिरो प्रतिबद्धता जन्मिनेछ।
इतिहासले डढाइदिने आगो सम्झने छैन। इतिहासले सम्झनेछ—हामी कसरी त्यस आगोबाट बाहिरियौं, अझ सबल, अझ गर्विलो, अझ एकताबद्ध भएर।
सीजी परिवारका सबै सदस्यलाई धन्यवाद। तपाईंहरू नै यो संस्थाको मुटु हुनुहुन्छ। हामीसँगै, केवल बाँच्छौं मात्र होइन—अझ उज्यालो भविष्य निर्माण गर्नेछौं।



















![अर्थमन्त्री फेरिंदैछन् ? सेयर बजारले के चाहेको छ ? [भिडिओसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/o1QyWIoiIVA-maxresdefault-150x150.jpg)
प्रतिकृया