रुप ज्योतिका दुई कम्पनीको घरजग्गा र सम्पत्ति लिलाम हुँदै

रुप ज्योतिका दुई कम्पनीको घरजग्गा र सम्पत्ति लिलाम हुँदै

बैंकको ऋण भुक्तानी नभएपछि ज्योति ग्रुपका अध्यक्ष रुप ज्योतिसँग सम्बन्धित दुई कम्पनीको धितोमा रहेको चल तथा अचल सम्पत्ति लिलाम हुने भएको छ। प्रभु बैंकले अन्तिम पटक ७ दिने सूचना जारी गर्दै नर्थ फेस होटल प्रालि र नेपाल जनरल मार्केटिङ प्रालिको धितो सम्पत्ति बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको हो।

बैंकले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गर्दै ऋणी र जमानतकर्तालाई यसअघि पटक–पटक मौखिक तथा लिखित ताकेता गरिएको, साथै ३५ दिने र १५ दिने सार्वजनिक सूचनासमेत जारी गरिए पनि कर्जा राफसाफतर्फ कुनै चासो नदेखिएपछि लिलामी प्रक्रिया अघि बढाइएको जनाएको छ।

लिलामीमा समावेश पहिलो कम्पनी नर्थ फेस होटल प्रालि हो। यस कम्पनीका सञ्चालक तथा जमानतकर्ता रुप ज्योति रहेका छन्। कम्पनीको धितोस्वरूप काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाभित्र रहेका एक दर्जनभन्दा बढी कित्ताका जग्गा तथा ती जग्गामा बनेका सम्पूर्ण संरचना बैंकले ‘जे जस्तो अवस्थामा छन्, सोही अवस्थामा’ बिक्री गर्ने जनाएको छ।

त्यसैगरी, नेपाल जनरल मार्केटिङ प्रालिको धितो सम्पत्तिसमेत लिलामीमा राखिएको छ। यस कम्पनीको ऋणका जमानतकर्तामा रुप ज्योतिका साथै उनका छोरा अभिक ज्योति र छोरी सुरुची ज्योति रहेका छन्। यो कम्पनी विगतमा नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक वितरक थियो भने हाल उक्त आधिकारिकता गुमाइसकेको छ।

कम्पनीको धितोमा ललितपुर महानगरपालिका–६ मा रहेको घरजग्गा, पर्साको चोर्नीस्थित ठूलो क्षेत्रफलको जग्गा, काठमाडौंको डिल्लीबजारमा रहेका विभिन्न कित्ताका जग्गा तथा भवन, साथै कलंकीस्थित घरजग्गा समावेश छन्। कम्पनीको मौज्दात तथा चालु सम्पत्तिमाथि रहेको हाइपोथिकेशन सुरक्षणलाई पनि बैंकले लिलामी प्रक्रियामा समेटेको छ।

इच्छुक बोलपत्रदाताले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र अर्थात् साउन १४ गतेसम्म काठमाडौंको बबरमहलस्थित प्रभु बैंकको प्रधान कार्यालयमा शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन्। प्राप्त बोलपत्रहरू साउन १५ गते दिउँसो १ बजे बैंकको प्रधान कार्यालयमा सरोकारवालाको रोहबरमा खोलिनेछ। बोलपत्र फाराम र त्यससँग सम्बन्धित सर्तहरू बैंकको कर्जा असुली विभागबाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ।

बैंकले लिलामीबाट पनि सम्पूर्ण साँवा, ब्याज र हर्जाना असुल हुन नसके प्रचलित कानुनबमोजिम ऋणी तथा जमानतकर्ताको अन्य व्यक्तिगत जायजेथाबाट समेत बाँकी रकम असुल गरिने चेतावनी दिएको छ। साथै, सम्पत्ति खरिद गर्दा लाग्ने सरकारी राजस्व, लाभकर, नामसारी तथा अन्य सम्बन्धित सम्पूर्ण दस्तुर बोलपत्रदाताले नै व्यहोर्नुपर्ने सर्त पनि बैंकले राखेको छ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स