अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) को भ्रमण गर्दै नियामकीय गुणस्तर (Regulatory Quality) अभिवृद्धि गर्दै उच्च नैतिकताका साथ पूँजी बजारको विकास अघि बढाउन निर्देशन दिएका छन्। उनले सेबोनलाई नेपाल राष्ट्र बैंकसरह वित्तीय प्रणालीको सशक्त नियामक संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै बजार सुधारका कामलाई दीर्घकालीन रणनीतिका साथ अघि बढाउन आग्रह गरे।
सोमबार सेबोन कार्यालयमा आयोजित कार्यक्रममा बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले अर्थमन्त्रीलाई पूँजी बजार विकासका लागि बोर्डले अघि बढाइरहेका नीति तथा कार्यक्रमबारे जानकारी गराएका थिए। कार्यक्रममा अर्थ सचिव डा. घनश्याम उपाध्याय, अर्थ मन्त्रालयका उच्च अधिकारी, बोर्ड सञ्चालक समिति तथा सेबोनका वरिष्ठ कर्मचारीको उपस्थिति थियो।
बोर्ड अध्यक्ष भट्टले ‘क्यापिटल मार्केट डेभलपमेन्ट ब्लुप्रिन्ट’ कार्यान्वयनमा आइसकेको र आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति तथा कार्ययोजना पनि कार्यान्वयन सुरु भइसकेको जानकारी दिए।
उनका अनुसार चालु साउनभित्र प्रारम्भिक सार्वजनिक निष्काशन (IPO), इन्ट्राडे ट्रेडिङ, मार्जिन लेन्डिङ, सर्ट सेलिङलगायतका विषयमा परामर्शपत्र (Consultative Papers) तथा आवश्यक नियम–निर्देशिका तयार गरिनेछ। त्यसपछि भदौदेखि सरोकारवालासँग व्यापक छलफल गरी आवश्यक नीतिगत तथा कानुनी संशोधन अघि बढाइने योजना रहेको छ।
बोर्ड अध्यक्षले पूँजी बजार विकासमा देखिएका चुनौती समाधान, नीति कार्यान्वयनलाई प्रभावकारी बनाउन तथा कर्मचारीको कार्य उत्प्रेरणा बढाउन अर्थ मन्त्रालयबाट आवश्यक सहजीकरणको समेत आग्रह गरेका थिए।
अर्थमन्त्री वाग्लेले नेपाल राष्ट्र बैंकजस्तै धितोपत्र बोर्ड पनि वित्तीय प्रणालीको सशक्त नियामक संस्था भएकाले सोहीअनुसार संस्थागत क्षमता विकास गर्नुपर्ने बताए। उनले कुनै पनि विचलनबिना बलियो नियामकको रूपमा बोर्डलाई स्थापित गर्नुपर्नेमा जोड दिए।
जवाफमा अर्थमन्त्री वाग्लेले नयाँ नेतृत्वसँगै सेबोनले दीर्घकालीन सोचका साथ बजार सुधारको गति समातेको र त्यसले लगानीकर्तामाझ सकारात्मक सन्देश गएको बताए। उनले नियामक निकायले कुनै पनि विचलनबिना निष्पक्ष र विश्वासयोग्य रूपमा काम गर्नुपर्नेमा जोड दिए।
अर्थमन्त्रीले पछिल्लो समय डिम्याट खाताको संख्या बढेसँगै लगानीकर्ताको अपेक्षा पनि बढेको उल्लेख गर्दै सोहीअनुसार सेबोनको संस्थागत क्षमता र नियामकीय दक्षता विस्तार गर्न निर्देशन दिए।
उनले पूँजी बजारसम्बन्धी नीति बनाउँदा राजनीतिक अर्थशास्त्र (Political Economy) को दृष्टिकोणबाट विश्लेषण गरी सबै सरोकारवालासँग पर्याप्त छलफलपछि मात्रै कार्यान्वयन गर्नुपर्ने बताए। त्यसो गर्दा बजारको दीगो विकास र लगानीकर्ताको विश्वास थप मजबुत हुने उनको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले नियामकीय तथा कानुनी सुधारका लागि नेपाल सरकारबाट आवश्यक सबै प्रकारको सहजीकरण उपलब्ध गराइने प्रतिबद्धता पनि व्यक्त गरे।
अर्थमन्त्रीको सेबोनलाई निर्देशन, ‘उच्च नैतिकतासहित पूँजीबजार विकासमा लाग्नुस्’
प्रतिकृया
शुरू केहिले देखी हुन्छ त