७० प्रतिशत उत्पादन भारत निर्यात गर्ने ‘ग्रीनप्लाई नेपाल’ले ल्याउँदै आईपीओ

७० प्रतिशत उत्पादन भारत निर्यात गर्ने ‘ग्रीनप्लाई नेपाल’ले ल्याउँदै आईपीओ

नेपालको प्लाइउड उद्योगमा एक दशकभन्दा लामो समयदेखि सक्रिय ‘ग्रीनप्लाई नेपाल’ अब पुँजी बजारमा प्रवेश गर्ने तयारीमा छ। कम्पनीले जारी पुँजीको २० प्रतिशत बराबर १६ लाख ४० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव अघि सारेको छ। उक्त प्रस्ताव पारित गर्न कम्पनीले साउन २२ गते विशेष साधारणसभा बोलाएको छ।

आईपीओ निष्कासनको तयारीस्वरूप कम्पनी यसअघि नै प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भइसकेको छ।

सन् २०१० मा ‘किटप्लाई इन्डस्ट्रिज नेपाल’ नामबाट स्थापना भएको कम्पनीले सन् २०१२ देखि व्यावसायिक उत्पादन सुरु गरेको हो। पछि कम्पनीको नाम परिवर्तन गरी ग्रीनप्लाई इन्डस्ट्रिज नेपाल राखिएको थियो। हाल कम्पनीको नाम ‘ग्रीनप्लाई नेपाल कम्पनि लिमिटेड’ राखिएको छ।

मोरङको विराटनगर–२ मा रहेको उद्योगबाट कम्पनीले प्लाइउड, ब्लक बोर्ड, फ्लस डोर तथा अन्य काठजन्य सामग्री उत्पादन गर्दै आएको छ। कम्पनीको वार्षिक उत्पादन क्षमता १५ लाख वर्गमिटर रहेको छ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालका अनुसार कम्पनीको वित्तीय यात्रा पछिल्ला पाँच वर्षमा विस्तार हुँदै गएको देखिन्छ। कम्पनीको कुल सञ्चालन आम्दानी आर्थिक वर्ष २०२१ मा ३० करोड ५० लाख रुपैयाँबाट बढेर आर्थिक वर्ष २०२५ मा ४८ करोड २० लाख रुपैयाँ पुगेको छ। यही अवधिमा कम्पनीको सञ्चालन आम्दानी औसत वार्षिक १२.१२ प्रतिशतका दरले बढेको रेटिङ प्रतिवेदनमा उल्लेख छ।

यद्यपि, कम्पनीको कारोबार बढे पनि सञ्चालनबाट हुने नाफामा केही दबाब देखिएको छ। इन्फोमेरिक्सका अनुसार रेजिन र कोर भेनियरजस्ता कच्चा पदार्थको लागत बढेपछि ब्याज, कर, मूल्यह्रास र परिशोधन खर्चअघिको सञ्चालन नाफा (EBITDA) मार्जिन आर्थिक वर्ष २०२३ को २३.१५ प्रतिशतबाट घटेर आर्थिक वर्ष २०२५ मा १४.३५ प्रतिशतमा झरेको छ। अर्थात्, बिक्री बढे पनि प्रत्येक बिक्रीबाट कम्पनीले कम सञ्चालन नाफा कमाइरहेको देखिन्छ।

यद्यपि अन्तिम खुद नाफामा भने सुधार देखिएको छ। आर्थिक वर्ष २०२३ मा कम्पनी घाटामा रहेकाले खुद नाफा (PAT) मार्जिन -२.१६ प्रतिशत थियो। तर त्यसपछि वित्तीय अवस्था सुधारिँदै आर्थिक वर्ष २०२५ मा यो १.४९ प्रतिशत पुगेको इन्फोमेरिक्सको प्रतिवेदनमा उल्लेख छ। अर्थात्, सबै खर्च र कर कटाएपछि कम्पनी पुनः नाफामा फर्किएको देखिन्छ।

कम्पनीका प्रमुख प्रवर्द्धकमध्ये दिवाकर राठीको ३२.५० प्रतिशत र मनिष खेतानको २२.५० प्रतिशत सेयर स्वामित्व रहेको छ। कम्पनीको सञ्चालक समितिको अध्यक्ष जीवनराज रिजाल रहेका छन्, रिजाल कम्पनी सञ्चालन सुरु भएदेखि नै नेतृत्वमा छन्।

हाल ग्रीनप्लाई नेपालको उत्पादनमध्ये ७० प्रतिशतभन्दा बढी भारत निर्यात हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार भारतमा निर्यातका लागि आवश्यक प्रमाणीकरण प्राप्त भइसकेको, निर्यात प्रवर्द्धनका लागि नेपाल सरकारबाट उपलब्ध निर्यात अनुदान समेत प्राप्त गर्दै आएको छ।

यसअघि इन्फोमेरिक्सले कम्पनीका ६७ करोड २५ लाख रुपैयाँ बराबरका बैंकिङ सुविधालाई दीर्घकालीनतर्फ IRN B+ र अल्पकालीनतर्फ IRN A4 रेटिङ प्रदान गरेको थियो।

रेटिङ प्रतिवेदनमा कम्पनीको एक दशकभन्दा लामो सञ्चालन अनुभव, अनुभवी व्यवस्थापन तथा पछिल्ला वर्षमा देखिएको आम्दानी वृद्धिलाई सकारात्मक पक्षका रूपमा उल्लेख गरिएको छ।

यद्यपि, रेटिङ एजेन्सीले कम्पनीको कार्यशील पुँजीमा उच्च निर्भरता, ऋणको दबाब तथा भारततर्फको निर्यातमा देखिएको अवरोधलाई चुनौतीका रूपमा पनि औँल्याएको छ। प्रतिवेदनअनुसार BIS प्रमाणपत्र नवीकरणमा ढिलाइ हुँदा भारततर्फको निर्यात प्रभावित भएको थियो। साथै ग्राहकबाट रकम उठाउन लाग्ने समय, उच्च मौज्दात र बैंक ऋणमा निर्भरता अझै कम्पनीका सुधार गर्नुपर्ने क्षेत्रका रूपमा उल्लेख गरिएको छ।

यद्यपि कम्पनीले उत्पादन क्षमता विस्तारमा लगानी जारी राखेको जनाएको छ। नयाँ ड्रायर जडानपछि उत्पादन क्षमता उपयोग २०२१ मा ३२.५७ प्रतिशतबाट बढेर २०२५ मा ५४.८८ प्रतिशत पुगेको र आगामी दिनमा निर्यात वृद्धि, उत्पादन विस्तार तथा सार्वजनिक पुँजीमार्फत व्यवसाय थप सुदृढ बनाउने योजना कम्पनीले अघि सारेको छ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स