काठमाडौं उपत्यकामा जग्गाको मूल्य बढ्यो, कुन ठाउँको कति ?

काठमाडौं उपत्यकामा जग्गाको मूल्य बढ्यो, कुन ठाउँको कति ?

काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रमा आर्थिक वर्ष २०८३/८४ का लागि जग्गाको न्यूनतम सरकारी मूल्यांकन (थैली अंक) बढाइएको छ। भूमि प्रशासन कार्यालयहरूले नयाँ मूल्य निर्धारण गरेसँगै अब जग्गा खरिदबिक्री गर्दा लाग्ने रजिस्ट्रेसन शुल्क तथा सम्बन्धित करको आधार रकम पनि बढ्ने भएको छ।

डिल्लीबजार, चाबहिल, कलंकी, टोखा र मनमैजु भूमि प्रशासन कार्यालयले नयाँ मूल्यांकन लागू गरेका छन्। भक्तपुरले भने अघिल्लो आर्थिक वर्षकै मूल्य कायम राखेको छ भने ललितपुरका कार्यालयहरूले नयाँ मूल्यांकन सार्वजनिक गरेका छैनन्।

यस वर्ष चाबहिल क्षेत्रमा सबैभन्दा बढी वृद्धि भएको छ। चक्रपथअन्तर्गत गौशालादेखि धोबीखोलासम्मका मुख्य सडकसँग जोडिएका जग्गाको न्यूनतम मूल्यांकन प्रतिआना ५७ लाख रुपैयाँबाट ६२ लाख ७० हजार रुपैयाँ पुगेको छ। मित्रपार्क, कालोपुल, गौशाला, रातोपुल, चाबहिल र जोरपाटीतर्फका मुख्य सडक क्षेत्रको मूल्यांकन ५० लाख ६० हजार रुपैयाँबाट ५५ लाख ६६ हजार रुपैयाँ पुर्‍याइएको छ भने बौद्ध स्तूपा आसपासको सरकारी मूल्य ४८ लाख ९५ हजार रुपैयाँ कायम गरिएको छ।

डिल्लीबजार कार्यालयअन्तर्गत न्यूरोड, दरबारमार्ग, कान्तिपथ, जमल, इन्द्रचोक, रत्नपार्क, सुन्धारा, सिंहदरबार पश्चिम गेट, माइतीघर, पुतलीसडक र हात्तिसारलगायतका मुख्य व्यापारिक क्षेत्रको न्यूनतम मूल्यांकन ७२ लाख ६० हजार रुपैयाँबाट ७६ लाख २० हजार रुपैयाँ पुगेको छ। पुतलीसडक–बागबजार–रत्नपार्क तथा सभागृह आसपासका जग्गाको मूल्यांकन पनि बढाएर ५६ लाख रुपैयाँ कायम गरिएको छ।

कलंकी क्षेत्रमा रिङरोडसँग जोडिएका बल्खुदेखि वनस्थलीसम्मका जग्गाको सरकारी मूल्य ४७ लाख रुपैयाँबाट ४९ लाख ३५ हजार रुपैयाँ पुगेको छ। कालिमाटी, बल्खु, सोल्टीमोड र कलंकी चोक आसपासका मुख्य सडक क्षेत्रको मूल्यांकन ४३ लाख रुपैयाँ तोकिएको छ।

टोखामा नारायणस्थान जाने पिच सडकसँग जोडिएका जग्गाको न्यूनतम मूल्यांकन प्रति वर्गमिटर ७० हजार रुपैयाँ कायम गरिएको छ, जुन प्रतिआना करिब २२ लाख २५ हजार रुपैयाँ बराबर हुन्छ। गत वर्ष यो करिब २१ लाख १७ हजार रुपैयाँ थियो। मनमैजुका विभिन्न सडक किनारका जग्गाको सरकारी मूल्य पनि २० लाख रुपैयाँबाट २२ लाख रुपैयाँ प्रतिआना पुर्‍याइएको छ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स