नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्न आवेदन आह्वान गरेको छ। अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्य नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड, २०७३ तथा ‘नेप्से प्रमुख कार्यकारी अधिकृत छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३’ अनुसार योग्य उम्मेदवारबाट आवेदन माग गरिएको हो।
सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तोकिएको ढाँचामा आवेदन दिनुपर्नेछ।
सीईओ पदका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा कानुन विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर, चार्टर्ड एकाउन्टेन्सी (CA) वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ। साथै, पुँजी बजार, वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी कम्तीमा १५ वर्षको अनुभव, जसमध्ये कम्तीमा ७ वर्ष व्यवस्थापकीय तहमा काम गरेको अनुभव अनिवार्य गरिएको छ। आवेदन दिने अन्तिम मितिसम्म उम्मेदवारको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ।
उम्मेदवारले व्यक्तिगत विवरण (Bio-Data), शैक्षिक तथा अनुभवका प्रमाणपत्र, अधिकतम ५,००० शब्दको Business Action Plan को तीन प्रति, रु. ५,००० दस्तुर बुझाएको भौचर तथा स्वघोषणा फाराम पेश गर्नुपर्नेछ।
छनोट प्रक्रिया दुई चरणमा १०० पूर्णाङ्कका आधारमा हुनेछ। पहिलो चरणमा शैक्षिक योग्यता (१०), कार्य अनुभव (१०) र कार्ययोजना (३५) गरी ५५ अङ्कको मूल्याङ्कन गरिनेछ। दोस्रो चरणमा नेतृत्व क्षमता (१०) तथा कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता (३५) गरी ४५ अङ्क प्रदान गरिनेछ।
प्रथम चरणबाट उच्च अङ्क ल्याउने सम्भव भएसम्म पाँच जना उम्मेदवारलाई प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि सर्टलिस्ट गरिनेछ। प्रत्येक उम्मेदवारलाई प्रस्तुतीकरणका लागि ३० मिनेटको समय दिइनेछ। अन्तिम मूल्याङ्कनपछि सबैभन्दा बढी अङ्क प्राप्त गर्ने तीन जनाको नाम नियुक्तिका लागि सिफारिस गरिने व्यवस्था छ। तीन जनाभन्दा कम आवेदन परेमा थप सात दिनको म्याद दिई पुनः आवेदन आह्वान गरिनेछ।
भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण वा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएका, कालोसूचीमा रहेका (६ महिना पूरा नभएको), धितोपत्र बजारमा आधारभूत सेयरधनी रहेका वा विदेशी स्थायी आवासीय अनुमति (PR) प्राप्त गरेका व्यक्ति यस पदका लागि अयोग्य हुनेछन्।
यस सम्पूर्ण छनोट तथा सिफारिस प्रक्रियाको सचिवालयको जिम्मेवारी अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले सम्हाल्नेछ।














![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-768x432.jpg)







![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)
प्रतिकृया