‘टेक एन्ड पे फिर्ता गर’ माग गर्दै ऊर्जा उद्यमीको कालो ब्यानर अभियान
सरकारले आगामी आर्थिक वर्षको बजेटमा विद्युत् खरिदमा ‘टेक एन्ड पे’ (लेऊ र तिर) प्रावधान समावेश गरेपछि ऊर्जा क्षेत्रका निजी उद्यमीहरू आन्दोलित भएका छन्। उक्त प्रावधानले जलविद्युत् आयोजनाका प्रवर्धकहरूलाई गम्भीर असर पार्ने भन्दै उनीहरूले सरकारलाई प्रावधान फिर्ता लिन माग गरिरहेका छन्।
गत जेठ १५ गते सार्वजनिक बजेटमा नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) अबदेखि ‘टेक एन्ड पे’ मोडलमा मात्र गरिने उल्लेख गरिएको थियो। त्यसयता ऊर्जा उद्यमीहरू विरोधमा उत्रिएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) अन्तर्गतका उद्यमीहरूले असार ६ गतेदेखि चरणबद्ध आन्दोलन सुरु गरेका छन्।
यसै क्रममा, आन्दोलनको तेस्रो दिन सामाजिक सञ्जालमार्फत सरकारलाई दबाब दिने रणनीति लिइएको छ। ऊर्जा उद्यमीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री बार्षमान पुन, ऊर्जा मन्त्री शक्ता बस्नेतलाई मेन्सन गर्दै टेक एन्ड पे प्रावधान फिर्ता लिन माग गरेका छन्। यसअघि गत शुक्रबार प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाइसकेका उद्यमीहरूले शनिबार प्रधानमन्त्रीसहित शीर्ष नेताहरूलाई सयौं एसएमएस पठाएर पनि आफ्नो माग दोहोर्याएका थिए।