इलन मस्क ट्रम्प सरकारबाट बाहिरिए

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १५ गते
इलन मस्क ट्रम्प सरकारबाट बाहिरिए

विश्वकै धनी अर्बपति इलन मस्कले ट्रम्प सरकारबाट बाहिरिएको घोषणा गरेका छन्। यस वर्ष जनवरीमा डोनाल्ड ट्रम्पको राष्ट्रपति पद सम्हाल्दै मस्क ‘विशेष सरकारी कर्मचारी’का रूपमा व्हाइट हाउस प्रवेश गरेका थिए। २०२४ को चुनावमा ट्रम्पलाई पुनः निर्वाचित गराउन मस्कले सयौं मिलियन अमेरिकी डलर लगानी गरेका थिए र विभिन्न मोर्चामा उनको समर्थन गरेका थिए।

रोयटर्सका अनुसार, व्हाइट हाउसका एक वरिष्ठ अधिकारीले मस्कको बहिर्गमन तत्काल हुने पुष्टि गरेका छन्। मस्कले पनि आफ्नै सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै ट्रम्प सरकारमा आफ्नो जिम्मेवारी अन्त्य भएको बताएका छन्। उनले अमेरिकी सरकारका विभिन्न निकायमा अनावश्यक खर्च कटौती गर्ने आफ्नो मिशनमा काम गर्ने अवसरका लागि ट्रम्पलाई धन्यवाद दिएका छन्।

ट्रम्प सरकारले शुरूवातमा मस्कलाई सरकारी प्रभावकारिता बढाउन ‘डज’ नामक विशेष विभागको नेतृत्व सुम्पिएको थियो। दुई महिनाभित्रै मस्कले सरकारका विभिन्न निकायको खर्च २० खर्ब अमेरिकी डलरबाट १ खर्ब ५० अर्ब डलरमा झारेका थिए। तर पछिल्लो समय मस्क सार्वजनिक रूपमा कम देखिएका थिए र आफ्नै व्यवसायमा फर्कने संकेत दिएका थिए।

मस्कको कार्यशैलीका कारण अमेरिकी नेताहरूसँग विवादहरू बढेपछि मार्च अन्त्यतिर ट्रम्पले मस्कले सरकार छोड्ने सार्वजनिक घोषणा गरेका थिए। रिपब्लिकन पार्टीले पनि सन् २०२६ को मध्यकालीन चुनावमा मस्कबाट टाढिन थालेको छ। साथै, ट्रम्पका केही नीतिहरूमा मस्कले सार्वजनिक असन्तुष्टि व्यक्त गरेपछि पनि सरकारमा विवाद बढेको थियो।

मस्कले राजनीतिक चन्दा कटौती गर्ने घोषणा गरिसकेका छन् र आफ्नो सय दिनको सरकारी जिम्मेवारी अवधिमा पारदर्शिता र जवाफदेहितासँगै प्रश्नहरू पनि सामना गरेका थिए। यस अवधिमा उनको लोकप्रियता घटेको छ भने टेस्लाजस्ता कम्पनीहरू पनि विश्व बजारमा चुनौतीहरू भोगिरहेका छन्।

मस्कको कार्यशैली र बोलीवचन दुवै पार्टी र जनमानसमा लोकप्रिय थिएनन्। मस्कको बहिर्गमन भए पनि ‘डज’ विभाग नयाँ नेतृत्वसहित जारी रहने ट्रम्पका मुख्यसचिवले पुष्टि गरेका छन्। तर विश्लेषकहरूले डजको केन्द्रीय भूमिका मस्कपछि क्रमशः कमजोर हुने अनुमान गरेका छन्।

टेस्लाको नाफा करिब ७१ प्रतिशत र सेयर मूल्य ३३ प्रतिशतले घटेको पृष्ठभूमिमा मस्कले व्यवसायमा ध्यान दिन सरकार छोडेको बताएका छन्। ट्रम्प र उनका सहयोगीहरूले भने राजनीतिक बोझका कारण मस्कको बहिर्गमन भएको विश्लेषण गरेका छन्।

(एजेन्सीहरुको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स