जिल्ला अदालत काठमाडौंले उद्योगी शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने म्याद थप गर्न अस्वीकार गरेको छ। यस आदेशपछि केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले उनलाई हिरासतबाट मुक्त गरी अनुसन्धान अघि बढाउनुपर्ने भएको छ।
न्यायाधीश मोना सिंहको इजलासले यसअघि जारी गरिएको पक्राउ अनुमतिको म्याद थप नगर्ने निर्णय गरेको हो। अदालतले प्रतिवादीलाई हिरासतमा राखी अनुसन्धान गर्नुपर्ने पर्याप्त आधार नदेखिएको उल्लेख गर्दै मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४(३) अनुसार म्याद थप गर्न नसकिने आदेश दिएको छ।
यसअघि सोमबार मात्रै सर्वोच्च अदालतले धरौटी र जमानतको व्यवस्था हुँदाहुँदै किन थुनामा राखेर अनुसन्धान गरिएको भन्दै धितोपत्रसम्बन्धी कसुरको अनुसन्धान प्रक्रियामाथि प्रश्न उठाएको थियो। तर, बीमासम्बन्धी कसुरको विषय रिट निवेदनमा समावेश नभएको भन्दै अदालतले त्यसबारे विस्तृत टिप्पणी गरेको थिएन।
सर्वोच्चको उक्त आदेशपछि सीआईबीले उनलाई धितोपत्रको सट्टा बीमासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको दाबी गर्दै तत्काल रिहा गर्न अस्वीकार गरेको थियो। तर, बीमासम्बन्धी कसुरमा म्याद थपका लागि अदालतमा पेश गर्दा जिल्ला अदालतले नै म्याद थप गर्न अस्वीकार गरेको हो।

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया