सिवाइसी लघुवित्तको नाफा दोब्बर, प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ४० पैसा
सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०४.५९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी ३२ प्रतिशतले बढेर १७ करोड ४० लाख रुपैयाँ पुगेको छ भने कम्पनीको चुक्ता पुँजी २६ करोड ६४ लाख रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको कुल सञ्चालन आम्दानी १४.९५ प्रतिशत र सञ्चालन मुनाफा १३७.५७ प्रतिशत बढेको छ। कम्पनीको इम्पेरमेन्ट चार्ज २ करोड ५३ लाख रुपैयाँ रिभर्स भएका कारण लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।
नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ५६ पैसा बढेर ३२ रुपैयाँ ४० पैसा पुगेको छ। पुस मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २५१ रुपैयाँ ७४ पैसा रहेको छ।