डा. निकोलस भुसालविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर अपराध मुद्दा दर्ता भएको छ। रास्वपा सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि यो मुद्दा दर्ता भएको हो। शुक्रबार जिल्ला अदालत कास्कीमा दर्ता गरिएको उक्त मुद्दामा भुसालले विद्युतीय सञ्चार माध्यमको दुरुपयोग गरी सुरक्षा संवेदनशीलता र गोपनीयता भंग गरेको आरोप लागेको छ।
भुसालले मंसिर २९ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा रवि लामिछानेलाई भेट्ने क्रममा सीसीटीभी मनिटरबाट लामिछाने सुतिरहेको तस्वीर खिचेर सार्वजनिक गरेका थिए। यो तस्वीर भाइरल भएपछि प्रहरी प्रशासनको आलोचना भएको थियो।
भुसालमाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) अनुसार कारबाही माग गरिएको छ। ऐनले विद्युतीय सञ्चार माध्यमबाट गोपनीयता भंग, सार्वजनिक नैतिकता विरोधी कार्य, र समाजमा घृणा वा द्वेष फैलाउने कार्यलाई निषेध गरेको छ। दोषी ठहर भएमा भुसाललाई पाँच वर्षसम्मको कैद वा एक लाख रुपैयाँसम्म जरिवाना, वा दुवै सजाय हुन सक्छ।
भुसालको मोबाइल र सिमकार्ड परीक्षणका लागि डिजिटल फरेन्सिक ल्याब, काठमाडौं पठाइएको छ। परीक्षण रिपोर्ट पछि अदालतमा पेश गरिने अभियोजन पत्रमा उल्लेख छ।
भुसालले तस्वीर खिचेको स्वीकार गर्दै जनतालाई जानकारी दिन मात्र फेसबुकमा पोस्ट गरेको दाबी गरेका छन्। तस्वीर भाइरल भएपछि उनले पोष्ट हटाएको र आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेको बयान दिएका छन्।

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया