राजस्व चुहावट नियन्त्रण गर्न ल्याइएको भन्सार विधेयक संसदबाट पारित
‘भन्सार विधेयक, २०८१’ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ। मंगलबार बसेको सभाको बैठकमा सैद्धान्तिक छलफलपछि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गरेका थिए, जसलाई बहुमत सांसदहरूले समर्थन जनाए।
सैद्धान्तिक छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पौडेलले भन्सार बिन्दुहरूमा व्याप्त बेथिति हटाउन र भन्सारसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न विधेयक ल्याइएको स्पष्ट पारे। उनका अनुसार, भन्सार नाकामा राजस्व चुहावट, अनियमितता रोक्न र व्यापारीहरूलाई पीडित हुन नदिने उद्देश्यले विधेयक तयार गरिएको हो।
मन्त्री पौडेलले भन्सार व्यवस्थापनलाई उपकरण र स्रोतसाधनका दृष्टिले अझ प्रभावकारी बनाउन सांसदहरूले दिएका सुझावप्रति धन्यवाद व्यक्त गरे।
उनले भने, “भन्सार बिन्दुहरूमा बेथिति र राजस्व चुहावट नहोस्, अनियमितता नियन्त्रण होस् र व्यापारीहरू पीडित नबनून् भन्ने सुझावहरू प्राप्त भएका छन्। भन्सार प्रणालीलाई थप प्रभावकारी बनाउन उपकरण र स्रोतसाधनको व्यवस्थापनमा सुधार ल्याउनेतर्फ पनि सांसदहरूको ध्यानाकर्षण भएको छ। म सबै माननीय सांसदहरूप्रति आभार व्यक्त गर्न चाहन्छु।”
मन्त्री पौडेलका अनुसार, विधेयक कानुनी रूपले लागू भएपछि राजस्व चुहावटमा कमी आउनेछ र भन्सार व्यापार प्रक्रिया अझ सहज हुनेछ।