८ महिनामा कर्जा प्रवाह ६ प्रतिशतले बढ्यो, निजी क्षेत्रतर्फको कर्जा ३ खर्ब
बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा निजी क्षेत्रतर्फ प्रवाह गरेको कर्जा ६ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, गत आर्थिक वर्षको सोही अवधिमा कर्जा प्रवाहको वृद्धिदर ४.२ प्रतिशत मात्र थियो।
यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले निजी क्षेत्रमा कुल ३ खर्ब ४ अर्ब ८२ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन्। अघिल्लो वर्षको सोही अवधिमा निजी क्षेत्रतर्फको कर्जा १ खर्ब ९९ अर्ब ५० करोड रुपैयाँमा सीमित थियो। वार्षिक बिन्दुगत आधारमा हेर्दा, २०८१ फागुन मसान्तसम्म निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जा ७.७ प्रतिशतले बढेको देखिन्छ।
तथ्यांकअनुसार, निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जामध्ये ६३.२ प्रतिशत कर्जा गैर–वित्तीय संस्थागत क्षेत्रले प्राप्त गरेको छ भने ३६.८ प्रतिशत कर्जा व्यक्तिगत तथा घरपरिवार क्षेत्रले पाएको छ। कर्जा प्रवाहका हिसाबले वाणिज्य बैंकले ६.३ प्रतिशत, विकास बैंकले ३.१ प्रतिशत र वित्त कम्पनीले ५.७ प्रतिशतले कर्जा विस्तार गरेका छन्।
धितोको आधारमा कर्जा प्रवाह हेर्दा, चालु सम्पत्तिको सुरक्षणमा रहेको कर्जा १४.५ प्रतिशत पुगेको छ भने घरजग्गा धितोको आधारमा प्रवाह भएको कर्जा ६५.२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी कर्जाहरू क्रमशः ११.७ प्रतिशत र ६७.५ प्रतिशत थिए।
आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा कर्जा प्रवाह क्षेत्रगत रुपमा उल्लेख्य वृद्धि देखिएको छ। औद्योगिक उत्पादन क्षेत्रमा प्रवाहित कर्जा ९.३ प्रतिशतले, निर्माण क्षेत्रमा ९.५ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रमा ४.४ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रमा ७.८ प्रतिशतले, सेवा उद्योगमा ८.० प्रतिशतले र उपभोग्य क्षेत्रमा प्रवाहित कर्जा ६.७ प्रतिशतले बढेको छ।
कर्जाको प्रकार अनुसार हेर्दा, आवधिक कर्जा ३.७ प्रतिशतले, मार्जिन कर्जा ३१.५ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ५८.१ प्रतिशतले, हायर पर्चेज कर्जा ४.७ प्रतिशतले, नगद प्रवाह कर्जा ३.६ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.९५ प्रतिशतले बढेको छ। तर अधिविकर्ष कर्जा भने १२.६ प्रतिशतले घटेको देखिन्छ।