नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले अटोमोबाइल्स क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड भने पनि सरकारले यसको उचित मूल्यांकन नगरेको बताएका छन्। नाडाको ४८औँ वार्षिक साधारणसभामा उनले अटोमोबाइल्स क्षेत्रले सरकारको राजस्वदेखि रोजगारीसम्म महत्वपूर्ण योगदान दिएको भए पनि अस्थिर नीतिका कारण यो क्षेत्र समस्यामा परेको बताए।
चौधरीका अनुसार अटोमोबाइल्स क्षेत्रले बिमा क्षेत्रमा ५० प्रतिशत योगदान पुर्याउँदै १ लाख प्रत्यक्ष र धेरै अप्रत्यक्ष रोजगारी सिर्जना गरेको छ। तर, युवाहरूको विदेश पलायनले यस क्षेत्रमा समेत नकारात्मक असर गरेको छ। उनले उद्योगको विकासमा राज्यका नीतिहरू अवरोधक बनेको उल्लेख गर्दै विशेषगरी विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसनको अभावलाई समाधान गर्नुपर्नेमा जोड दिए।
उनले नेपाल विद्युत प्राधिकरणलाई चार्जिङ स्टेसनहरूको संख्या बढाउन र सरकारलाई आयात हुने विद्युतीय सवारी साधनको गुणस्तर सुनिश्चित गर्न आग्रह गरे। वर्तमान मौद्रिक नीतिले अटोमोबाइल्स क्षेत्रमा थप चुनौती थपेको बताउँदै चौधरीले सरकारसँग दीर्घकालीन रणनीति ल्याउन अनुरोध गरे।
उनले भने, “यदि सरकारले सकारात्मक नीति लागू गर्न सकेन भने, यो क्षेत्र समस्यामा पर्नुका साथै पलायनको अवस्थामा पुग्न सक्छ।” चौधरीले अटोमोबाइल्स क्षेत्रको समृद्धि र दीर्घकालीन विकासका लागि नाडाले निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया