प्रतिकिलो १५ रुपैयाँमा पनि बिकेन काउली, लागत पनि नउठ्ने चिन्ता



Advertisement
Ads

काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीको गायत्री सापकोटालाई अहिले बारीमा फलेको काउली काट्न भ्याइनभ्याइ छ । उनी जस्तै गाउँका अन्यलाई काउली काट्न त, कोही बजार लैजाने तयारीमा देखिन्छन्  । सापकोटाले विगतमा जस्तै यसवर्ष पनि आफ्नो खेतमा रोपेका थिए, तर काउलीको मूल्य घटीरहेकामा निकै चिन्तामा परेको बताउँछन् ।

‘मैले बारीभरी काउली रोपेको थिएँ, अहिले मध्य सिजन भएकाले होला काउली रू १५ मा पनि बिकिरहेको छैन, लगानीसमेत नउठ्ने भयो,’ सापकोटाले दुःखेसो पोखे ।


Advertisement

करिब महिनाअघिसम्म प्रतिकेजी रू एक सयसम्ममा बिक्री भएको काउली अहिले एकाएक सस्तिएपछि यहाँका किसान निकै चिन्तामा छन् । उक्त वडाका करिब एक सय ३० किसान परिवारले आफ्नो खेतबारीमा काउली रोपेका थिए । तर भाउ नपाउँदा उनीहरूको लगानी जोखिममा परेको बताइन्छ ।

बारीमै छोडौँ नहुने, टिपेर बजार पठाउँदा ज्याला पनि नउठ्ने भइसकेकामा स्थानीय अर्का किसान सङ्गीता सापकोटालाई पनि निकै चिन्ता पर्न थालेको छ । ‘यहाँ यो सिजनमा दैनिक एक हजार केजीसम्म काउली उत्पादन हुने गरेको छ, तर बजारमा राम्रो मूल्या नपाउँदा भने लगानी र ज्यालासम्म नउठ्ने भए पनि घाटा ब्याहोर्न बाध्य भइयो,’ उनले भने । स्थानीय व्यापारीलाई तरकारी पठाउने गरेका यहाँका किसान आफूहरूलाई पायकपर्ने स्थानमा हाटबजार राखिदिन नगरपालिकासँग अनुरोध गरेको उनले बताए ।

स्थानीय चिरञ्जीवी सापकोटा दम्पतीलाई पनि हालका दिनमा काउली काट्ने र बजार लैजान तयारी गरिदिन हतारोनै हुने गरेको छ । साँझ व्यापारी तरकारी लिन आउने भएकाले उहाँहरू समय मिलाएर काउली काट्न निस्कन्छन् । व्यापारी तरकारी लिन बारीमै आउने र मोल नगरी लिएर जाने र बनेपा तथा काठमाडौँमा लगेर बिक्री गरेपछि आफूलाई नाफा राखेर पैसा दिने गरेको सापकोटाले बताए । उनी पनि आफूले गरेको मेहनतअनुसारको आम्दानी नपाएकोमा निकै चिन्तामा परेको बताउँछन् ।

‘व्यापारीलाई विश्वासकै भरमा तरकारी दिन्छौँ, समय नभएकाले हामी आफैँ बिक्री गर्न बजार जाँदैनौँ, त्यही भएर व्यापारीको भरपर्ने हो,’ उनले भने । उनले हाल व्यापारीले प्रतिकिलो काउली रू १० का दरले पैसा दिएको बताए । सापकोटाले पाँच रोपनीमा लगाएको काउलीबाट गत वर्ष रू एक लाख ५० हजारसम्म आम्दानी गरेका छन् । तर यस वर्ष मूल्य राम्रो नपाएकाले फाइदा निकाल्न सक्ने स्थितिमा नरहेको उनको भनाइ छ ।

यस वर्ष रू ८० हजार नकट्ने उनको अनुमान छ । हालसम्म स्थानीय किसानले काउलीको राम्रो मूल्य पाएको प्रतिकिलो रू १७ सम्म मात्रै हो । उपभोक्ताले बजारमा काउलीको मूल्य प्रतिकिलो रू ५० रूपियाँसम्म तिर्दा पनि यहाँका किसानले भने रू १० देखि रू १५ मात्रै पाइरहेका छन्  । गत वर्ष एउटै किसानले एक सिजनमा काउली, बन्दा र गोलभेंडा बेचेर रू पाँच लाखभन्दा बढी आम्दानी गरेका थिए, तर यो वर्ष रू एक लाख उठाउन पनि कठिन देखिएको स्थानीयको भनाइ छ ।

सापकोटाको भनाइमा काउली फलाउन किसानले धेरै मेहनत गर्नुपर्छ, काउली रोप्न खेत वा बारी तयारी गर्ने, काउलीको बेर्ना तयारी गर्ने, रोप्ने, गोडमेल गर्ने, मलजल गर्ने, समय–समयमा कीटनाशक विषादी हाल्नेलगायत काम गर्नुपर्छ, यतिका काम गर्दा लागेको खर्च हालको बजार मूल्यले धान्न सक्दैन । ‘हाल किसानले प्रतिकिलो काउलीको मूल्य रू ३५ देखि ४० सम्म पाउनसके लगानी उठाउन सकिनेछ,’ सापकोटाले भने ।

राम्चेबेँसीमा हरेक वर्ष तरकारीखेती हुन्छ । यहाँका सयौँ रोपनी जग्गामा किसानले मौसमी तथा बेमौसमी तरकारी रोप्दै आएका छन् । तर पछिल्ला केही वर्षयता भने मण्डनदेउपुरमा विविध कारण खेतीपातीमा लाग्ने किसान विस्तारै घट्न थालेको देखिएको छ । निकै दुःख गरेर उत्पादन गरे पनि बजारका राम्रो मूल्य नपाउँदा किसानले खेतीमा गरेको लाखौँ रूपैयाँ जोखिममा पर्ने गरेको घटना देखिएका छन् । मल, बीउ समयमा नपाउने र पाइए पनि महँगो तिर्नुपर्ने कारण लाखौँ लगानी गर्नुपर्ने बाध्यता रहेको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर