दाङ क्षेत्र नं ३ का उम्मेदवारहरू आ–आफ्ना ‘एजेन्डा’ लिएर गाउँ–गाउँ जान थालेका छन्। उम्मेदवारहरूले कार्यकर्ता तथा मतदातालाई भेटघाट गर्न थालेका छन्। कांग्रेसका उम्मेदवार दीपक गिरीले आफूले सिँचाइमन्त्री हुँदा बृहत् दाङ उपत्यका सिँचाइ आयोजना ल्याउन भूमिका खेलेको कुरा लिएर जनतामाझ आएका छन्।
त्यस्तै पश्चिम दाङका सडक सञ्जालमा भूमिका खेलेको गिरीको भनाइ छ। त्यस्तै टरिगाउँ एयरपोर्ट विस्तारका लागि पनि पहल गरिरहेका छन् भन्ने उनको भनाइ छ। दाङलाई सबल र विकसित बनाउन आफ्नो उम्मेदवारी रहेको गिरीले बताएका छन्। उनले आफ्नो उम्मेदवारी राष्ट्रियता तथा लोकतन्त्रलाई बलियो बनाउनका लागि रहेको बताएका छन्। उनले युवा विदेश पलायन हुनुपर्ने अवस्था रहेको भन्दै यसलाई रोक्न पनि आफ्नो भूमिका खेल्ने बताएका छन्।
नेपालको संविधान संशोधन गरी जनता मैत्री संविधान बनाउने पनि उनको एजेन्डा छ। उनि २०५१ सालदेखि चुनाव लड्दै आएका छन्। यद्यपि उनि अहिलेसम्म दुईपटक मात्रै निर्वाचित भएका छन्। उनले २०७० सालको संविधानसभाको निर्वाचन र २०७९ सालको प्रतिनिधिसभा सदस्यमा जितेका छन्।
सडक र पुलको कुरा जनतामाझ लिँदै मास्की
नेपाली कम्युनिष्ट पार्टीबाट चुनावमा होमिएका धनबहादुर मास्की (राजेश) लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभामा उम्मेदवारी दिएर हाल जनतामाझ छन्। उनले त्यो उम्मेदवारी आफ्नो मात्रै नभई जनताको मागका रूपमा रहेको बताएका छन्। आफू प्रदेशको अर्थमन्त्री हुँदा तथा सांसद हुँदा गहतेखोला सडक स्तरवृद्धि, भमकेखोला, बहुला खोलामा पुल निर्माणजस्ता कार्य गरेको भन्दै यी एजेन्डा लिएर जनतामाझ आएका छन्।
त्यस्तै गाउँ–गाउँमा सडक, शिक्षा, स्वास्थ्यलगायत पूर्वाधार निर्माण गर्ने काम अघि बढाएको उहाँको भनाइ छ। “मैले चुनावका बेला माथिल्लो सडक स्तरवृद्धि, खोलामा पुल निर्माण जस्ता एजेन्डा बनाएको थिएँ, ती एजेन्डाअनुसार मैले काम गरेँ र परिणाम पनि देखियो”, उनले भनेका छन्।
मास्कीले ग्वारखोलादेखि पश्चिमलाई सुन्दर पश्चिम दाङ बनाउने, दामोदर सडक स्तरवृद्धि, ग्वारखोला हाइड्याम्प, प्रादेशिक अस्पतालको स्तरवृद्धि, कृषि क्याम्पस निर्माण, तुलसीपुर–हापुरे चारलेन, राप्ती लोकमार्ग चारलेन बनाउनेजस्ता एजेन्डा लिएर जनतामाझ जान थालेको बताएका छन्। उनि पहिलोपटक प्रदेशसभा सदस्य बनेका हुन्। त्योभन्दा अघि उनि कुनै पनि चुनाव लडेका थिएनन्।
पूर्वप्रमुखको सांसद बन्ने चाहना
नेकपा(एमाले)बाट चुनावमा होमिएका घनश्याम पाण्डे २३ वर्षको उमेरमा नै तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख बन्न पुगेका व्यक्ति हुन्। २०५१ सालदेखि चुनावमा होमिँदै आएका पाण्डे तत्कालीन अवस्थामा उपप्रमुख बनेका हुन्। २०६४ र २०७० मा उनले चुनाव नलडे पनि २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनि तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुखमा निर्वाचित भएका छन्।
नगर प्रमुख हुँदा आफूले गरेका काम नै चुनाव जित्ने आधार रहेको पाण्डे बताउँछन्। उनले मेट्रो कलेज स्थापना, अस्वारामा अस्पताल, तुलसीपुरमा व्यापारिक भवन निर्माणजस्ता परियोजनामा काम गरेको भन्दै ती कुरा लिएर जनतामाझ गएको बताएका छन्।
उनले दाङको समृद्धि र विकास, किसानको हक अधिकार सुनिश्चित, स्वरोजगार सिर्जना, टरिगाउँ विमानस्थल व्यवस्थिति, समृद्धि र विकासको हब, शिक्षा र स्वास्थ्य, प्रविधि, उद्यमशीलताको हबका रूपमा विकास गर्ने लक्ष्य राखेका छन्। साथै उनले संसद्मा गएपछि संसदीय परम्परालाई जनतामा केन्द्रित गर्नुपर्नेमा पनि जोड दिएका छन्। निर्वाचन क्षेत्र भित्रका जनताका समस्यालाई पहिचान गरी समाधान गर्नेतर्फ संसद्लाई केन्द्रित गर्ने उनको योजना छ।
सुशासन र डेलिभरीको मुद्दा लिएर जनतामा सुवेदी
राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावी मैदानमा होमिएका कमल सुवेदी यसअघिको निर्वाचनमा पनि उम्मेदवार भएका थिए। उनले हाल सुशासन र डेलिभरीको मुद्दालाई अघि सारेका छन्। अबको समृद्धि नयाँ दल नै गर्ने दाबी गर्दै उनि ती एजेन्डा लिएर जनतामाझ आएका छन्। युवा पुस्तालाई स्वरोजगार सिर्जना गर्ने, सुशासन कायम गर्ने, विकास निर्माणलाई तीव्रता दिने उनका एजेन्डा छन्।
अन्य उम्मेदवार पनि चुनावी मैदानमा
दाङ–३ मा राष्ट्रिय जनमोर्चाले कमला जिसी, मङ्गोल नेसनल अर्गनाइजेसनले घनश्याम चौधरी, मितेरी पार्टीले सन्तोष सिंह, जनता समाजवादी पार्टीले शोभा डाँगी, आम जनता पार्टी (एकल चुनाव चिह्न)ले पाण्डवी नेपाली, नेसनल रिपब्लिक नेपाल पार्टीले प्रितम चौधरीलाई उम्मेदवार बनाएको छ।
त्यस्तै संयुक्त नागरिक पार्टीले दलवीर कामी, श्रम संस्कृति पार्टीले टोपबहादुर महतारा, नेकपा (माओवादी)ले बलबहादुर वली, नागरिक उन्मुक्ति पार्टीले महेश चौधरीलाई उम्मेदवार बनाएको छ। त्यस्तै स्वतन्त्रबाट भागिराम चौधरी, सुरेश नेपाली, प्रेमबहादुर वली, महेश डाँगी, यमबहादुर बस्नेत, भरत परियार, इन्द्रबहादुर बस्नेत र सिप्रिक कँडेलले उम्मेदवारी दिएका छन्। उनिहरूले पनि आफ्ना एजेन्डा लिएर जनतामाझ आएका छन्।
विसं २०७९ को समानुपातिक मत हेर्दा कांग्रेस र एमाले थोरै मतले मात्रै तलमाथि छन्। कांग्रेसले २६ हजार ५७७ मत ल्याएको छ भने एमालेले २६ हजार ११७ मत ल्याएको छ। सोही निर्वाचन क्षेत्रमा रास्वपाले १४ हजार ४१० समानुपातिक मत ल्याउँदा तत्कालीन माओवादी केन्द्रको १० हजार ९२५ र एकीकृत समाजवादीको ६९१ मत छ।















प्रतिकृया