नेपाल क्रिकेट संघ (क्यान) ले भुटानविरुद्धको महिला क्रिकेट खेलमा भएको घटनाप्रति क्षमायाचना गरेको छ।
एसीसी महिला प्रिमियर कपअन्तर्गतको खेलमा नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याइरहेको भुटानले सुरुमै एक विकेट गुमाएको थियो।
त्यसपछि तेस्रो नम्बरमा आउने ब्याटर तोकिएको ९० सेकेन्डको समयभित्र क्रिजमा पुग्न सकिनन्। निर्धारित समयभित्र नआएपछि नेपाली खेलाडीहरूले नियमअनुसार अम्पायरसमक्ष अपिल गरेका थिए। अम्पायरले त्यसलाई सदर गर्दै उनलाई आउट घोषणा गरे। तर यदि नेपालले टाइम्ड आउटको अपिल नगरेको भए चाहिँ विपक्षी खेलाडी आउट हुदैनथिईन्।
यो घटनापछि क्यानले खेलको भावना र मूल्य–मान्यतासँग मेल नखाने भन्दै औपचारिक रूपमा माफी मागेको छ। क्यानले भुटान क्रिकेट, सम्बन्धित खेलाडी तथा सरोकारवालाप्रति क्षमायाचना गर्दै खेलभावना, निष्पक्षता र आपसी सम्मानलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ।
क्यानले नियमअनुसार भए पनि खेलभावना माथि हुनुपर्ने उल्लेख गर्दै यस घटनाप्रति खेद व्यक्त गरेको छ।
यस्तो छ क्यानको विज्ञप्तीः
आजको खेलमा भुटानी ब्याटरलाई ‘टाइम्ड आउट’ मार्फत आउट गरिएको घटनाले नेपाल क्रिकेट संघ (क्यान) ले सधैं आत्मसात गर्न खोजेको क्रिकेटको मूल्य र भावना (स्पिरिट अफ क्रिकेट) लाई प्रतिबिम्बित गर्दैन।
नेपाल क्रिकेट संघ (क्यान) का तर्फबाट यस विषयमा महिला राष्ट्रिय टोलीको कदमप्रति हामी हार्दिक क्षमायाचना व्यक्त गर्दछौं। उक्त आउट क्रिकेटका नियमअनुसार गरिएको भए पनि, खेलको भावना केवल लिखित नियमहरूमा सीमित नभई खेलाडीहरूको आचरण र व्यवहारमा पनि झल्किनुपर्छ भन्ने हामी विश्वास गर्छौं।
विकासशील क्रिकेट राष्ट्रका रूपमा हामी खेल भावना, पारस्परिक सम्मान र निष्पक्ष प्रतिस्पर्धालाई उच्च प्राथमिकता दिन्छौं। यो घटनाले ती मान्यताहरू अनुरूप हुन नसकेको हामी स्वीकार गर्छौं र यसबाट उत्पन्न हुन सक्ने कुनै पनि निराशाप्रति खेद व्यक्त गर्दछौं।
हामी भुटान क्रिकेट, सम्बन्धित खेलाडी तथा यस घटनासँग जोडिएका सम्पूर्ण सरोकारवालाप्रति हार्दिक क्षमायाचना व्यक्त गर्दछौं। क्यान मैदानभित्र र मैदानबाहिर दुवै स्थानमा उच्च नैतिकता, इमानदारी तथा क्रिकेटको भावनालाई कायम राख्न दृढ प्रतिबद्ध रहेको पुनः स्पष्ट गर्दछ।


















![बौद्धिक व्यक्तिले नै किन स्टक ट्रेडिङमा बढी घाटा खान्छन्? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/w3oKZvBNr5g-maxresdefault-150x150.jpg)

प्रतिकृया