बाल अस्पतालको निर्माण गर्न व्यवसायी मीनबहादुर गुरुङले गरे ७१ करोड सहयोग

बाल अस्पतालको निर्माण गर्न व्यवसायी मीनबहादुर गुरुङले गरे ७१ करोड सहयोग

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) अन्तर्गतको बाल अस्पतालको नवनिर्मित पश्चिमतर्फको भवन शनिबार एक विशेष समारोहबीच व्यवस्थापनलाई हस्तान्तरण गरिएको छ। करिब ७१ करोड रुपैयाँ लागतमा निर्माण गरिएको उक्त भवन व्यवसायी मीनबहादुर गुरुङको पहलमा निर्माण सम्पन्न भएको हो।

बूढानीलकण्ठ–७, हेपाली हाइटमा आयोजित कार्यक्रममा जगत्गुरु शंकराचार्य श्री विधुशेखर भारतीले भवनको समुद्घाटन गरेका थिए। भवन निर्माणमा व्यवसायी गुरुङसहित सावित्री गुरुङ, पहलमान गुरुङ र सरला गुरुङको योगदान रहेको बताइएको छ।

कार्यक्रममा भाटभटेनी समूहले उक्त भवन निर्माणमा कुल ७१ करोड ४ लाख ४२ हजार २४४ रुपैयाँ खर्च गरेको जानकारी दिइएको थियो। सो अवसरमा पूर्वप्रधानमन्त्री सुशीला कार्कीले अस्पताल स्थापनाले गरिब तथा बालबालिकालाई सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त हुने वातावरण सुनिश्चित हुने विश्वास व्यक्त गरिन्।

अस्पतालका अध्यक्ष तथा वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइरालाले यो गैरनाफामूलक संस्थाले विशिष्टीकृत स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिएको बताए।

व्यवसायी मीनबहादुर गुरुङले सबै नागरिकलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल स्थापना गरिएको उल्लेख गरे। काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ मुनाफारहित कम्पनीका रूपमा दर्ता भई समाज कल्याण परिषद्मा आबद्ध सामाजिक संस्थाका रूपमा सञ्चालन हुँदै आएको छ।

संस्थाले काठमाडौँ उपत्यकासहित सातै प्रदेशमा बाल अस्पताल सञ्जाल विस्तार गर्ने लक्ष्य राखेको छ। सबै वर्गका बालबालिकालाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याई शिशु तथा बाल मृत्युदर घटाउने उद्देश्यसहित यो परियोजना अघि बढाइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स