धादिङ निर्वाचन क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा उम्मेदवार आशिका तामाङले घरदैलो अभियानका क्रममा दिएको भाषणको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
बिहीबार आफ्नै निर्वाचन क्षेत्रको गल्छीचोकमा पार्टीका सभापति रवि लामिछानेको उपस्थितिमा आयोजित चुनावी सभामा आशिका भाषण दिँदै थिइन्। भाषणको क्रममा उनले भनिन्, “धादिङमा सुशासन स्थापना गरी भ्रष्टाचार गर्न आएकी हुँ!”। त्यसपछि रविले तुरुन्त सच्याउँदै भने, “भनेर अन्य नेताले भन्छन् तर आशिकाले भन्दिनन्।”
आशिका तामाङले आफ्नो शब्द त्रुटिप्रति माफी माग्दै सामाजिक सञ्जालमार्फत स्पष्ट पारेकी छन्। उनले लेखिन्, “विगत एक महिनाभन्दा बढी समयदेखि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म धादिङका विभिन्न वडामा निरन्तर घरदैलो अभियान सञ्चालन गर्दै आएको छ।” धादिङको भूगोल काठमाडौं जिल्लाभन्दा ठूलो अनुभव भएको बताउँदै उनले दैनिक घर–घर पुगेर जनताको गुनासो सुन्दै आएको जानकारी दिइन्।
उनले गल्ति स्वीकारेर अबदेखि बोल्दा बढी सावधानी अपनाउने वाचा गरेकी छन्।आशिकाले लेखेकी छन्:”आज घरदैलो गर्न थालेको एक महिना भयो। धादिङ जिल्ला काठमाडौंभन्दा ठूलो छ र मैले दैनिक १२ घण्टा घर–घर दौडि गरिरहेको थिएँ। गल्छीचोकमा रवि दाइको स्वागत गर्न पुग्दा, मैले छिटो आफ्नो सानो मन्तव्य तयार पारेँ। बोल्दा ‘धादिङमा सुशासन स्थापना गरी भ्रष्टाचार अन्त्य गर्न आएकी हुँ’ भन्नु पर्ने थियो, तर मेरो आखाले अन्त्य शब्द ठम्याउन सकेन र ‘भ्रष्टाचार गर्छु’ शब्द सुनियो। त्यसका लागि सम्पूर्णमा माफी माग्दछु। अबदेखि बोल्दा धेरै ध्यान दिने र यस्तो गल्ती दोहोर्याउने छैन। धन्यवाद!”
















प्रतिकृया