पिपुल्स पावर लिमिटेडले आज असार २२ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतका दरले हकप्रद सेयर जारी गर्दैछ, जसअनुसार हालको १० कित्ता सेयरको अनुपातमा नयाँ ५ कित्ता हकप्रद सेयर निष्काशन गरिँदैछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर जारी गर्दैछ, जसको कुल मूल्य ३१ करोड ६३ लाख रुपैयाँ हुनेछ।
यस हकप्रद सेयरको लागि कम्पनीले असार २ गते बुक क्लोज गरेको थियो। तसर्थ, असार १ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले साउन ११ गतेसम्म आवेदन दिन सक्नेछन्। हकप्रद सेयर निष्काशनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई “CARE-NP BB Issuer Rating” रेटिङ दिएको छ, जसले समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमतामा औसत स्तरको जोखिम रहेको संकेत गर्छ।
सेयर निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मा प्रभु क्यापिटल लिमिटेडले लिएको छ। लगानीकर्ताहरूले प्रभु बैंकका इलाम, जाउलाखेल (ललितपुर), वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू वा CDSC को ‘मेरो शेयर’ सफ्टवेयर प्रयोग गरी अनलाइनबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
हाल कम्पनीको चुक्ता पूँजी ६३ करोड २६ लाख रुपैयाँ रहेको छ, जुन हकप्रद बाँडफाँटपछि बढेर ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ।




















प्रतिकृया