एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज (असार २५ गते) देखि ४२ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ बराबर ०.४२ को अनुपातमा कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको हो।
यस प्रयोजनका लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गरिसकेको छ। त्यसैले, जेठ १४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनीहरू मात्र हकप्रद सेयरमा आवेदन दिन योग्य छन्। आवेदन दिने अन्तिम मिति साउन १३ गतेसम्म तोकिएको छ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले यस हकप्रद सेयर निष्काशनका लागि कम्पनीलाई “आईआरएन ए– (Single A Minus)” रेटिङ दिएको छ। यस रेटिङले समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा पर्याप्त सुरक्षा रहेको संकेत गर्छ।
हकप्रद सेयरको निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। आवेदकले मुक्तिनाथ विकास बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा–चिप्लेढुङ्गा, नेपालगञ्ज, खुर्देत, धनगढी, महेन्द्रनगर र बुटवल शाखा तथा एशियन लाइफ इन्स्योरेन्सको कार्यालयबाट आवेदन दिन सक्नेछन्।
त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र CDSC को ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत सि–आस्वा प्रणाली प्रयोग गरेर पनि आवेदन दिन सकिनेछ।
हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ रहेको छ। हकप्रद निष्काशन र बाँडफाँडपश्चात यो पूँजी बढेर ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ।




















प्रतिकृया