विप्लवसँग आलु किनेपछि विनोद चौधरीले भने: अर्थतन्त्र बलियो बनोस्
काँग्रेस सांसद तथा उद्योगपति विनोद चौधरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अन्तर्गत सञ्चालित जनश्रम कृषि सहकारीले उत्पादन गरेको आलु आफ्नै कम्पनी सीजी फुड्समार्फत खरिद गरेका छन्।
चौधरीले सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत जानकारी दिँदै यो सहकार्यले घरेलु कृषि र उद्योगबीच आपसी सम्बन्धलाई सुदृढ बनाउने आशा व्यक्त गरेका छन्। उनले भनेका छन्, “नेपाली अर्थतन्त्रको एकीकृत विकासका लागि कृषि उत्पादन र औद्योगिक उत्पादनबिच अन्योन्याश्रित सम्बन्ध हुनुपर्छ। हाम्रा उद्योगहरूका लागि आवश्यक कच्चा पदार्थ देशभित्रैबाट आपूर्ति गर्न सकियो भने अर्थतन्त्रको जग बलियो हुन्छ।”
‘हामीले देशभित्र उपलब्ध कच्चा पदार्थको अधिकतम उपयोग गर्ने नीति लिएका छौँ। सोहीअनुसार विप्लवजीले उत्पादन गरेको आलु हाम्रो इन्डष्ट्रियल पार्कले खरिद गरेको हो। अन्य कृषि उपज पनि यस्तै गरी आपूर्ति हुने वातावरण बनाउनुपर्छ। राजनीति र आर्थिक विकास जोडियोस्, विप्लवजीलाई शुभकामना!’ उनले थपेका छन् ।
सीजी फुड्सले नेकपाले उत्पादन गरेको करिब २ लाख किलो आलु खरिद गरेको हो।