insta insta

जनादेशविपरीत तीन दलको सरकार स्वीकार्य छैन: गगन थापा

जनादेशविपरीत तीन दलको सरकार स्वीकार्य छैन: गगन थापा
Advertisement Ads

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका लागि तीन ठूला दल मिलेर सरकार बनाउने प्रस्ताव जनताको म्यान्डेटविपरीत रहेको भन्दै कांग्रेसले त्यसलाई अस्वीकार गरेको बताएका छन्। प्रदेशसभालाई प्रतिपक्षविहीन बनाउने कुनै पनि अभ्यास लोकतान्त्रिक मूल्यअनुकूल नहुने उनको धारणा छ।

आइतबार ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण तथा ४४औँ बीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै थापाले सत्ता प्राप्तिका लागि कांग्रेसले अब सिद्धान्तमा सम्झौता नगर्ने स्पष्ट पारे।

प्रदेश सरकार गठनबारे धेरैले कांग्रेसको भूमिका चासोका साथ सोध्ने गरेको उल्लेख गर्दै उनले परिणाम जस्तोसुकै भए पनि पार्टीले आफ्नो सिद्धान्तबाट पछि नहट्ने बताए। “प्रदेश सरकारको सन्दर्भमा धेरैले हाम्रो भूमिका के हुन्छ भनेर सोध्नुहुन्छ। परिणाम जे भए पनि नेपाली कांग्रेसले सिद्धान्तमा सम्झौता गर्दैन,” उनले भने, “विगतका गल्ती दोहोर्‍याउँदैनौँ। तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव जनादेशविपरीत भएकाले हामीले अस्वीकार गरेका छौँ।”

थापाले तीन दल मिलेर सरकार गठन गर्नु भनेको प्रदेशसभालाई प्रतिपक्षविहीन बनाउनु भएको उल्लेख गर्दै सरकारमा सहभागी हुनु मात्रै कांग्रेसको उद्देश्य नभएको प्रस्ट पारे।

कांग्रेसले विगतमा सत्ताकै लागि केही गल्ती गरेको स्वीकार गर्दै उनले अब त्यस्तो अभ्यास दोहोरिन नदिने प्रतिबद्धता जनाए। सत्ता नै सबैथोक हो भन्ने सोचले २०७२ सालयताको राजनीति अस्थिर र दिशाहीन बनेको उनको भनाइ थियो।

उनले बिहानसम्म सत्तापक्षमा रहेको दल भोलिपल्ट प्रतिपक्षमा पुग्ने र प्रतिपक्षमा रहेको दल एकाएक सत्तामा जाने प्रवृत्तिले राजनीतिको विश्वसनीयतामा असर परेको बताए। “सत्ता नै सबै कुरा हो भन्ने मान्यताले गर्दा कांग्रेससहितका पुराना दलहरूले अहिले ठूलो मूल्य चुकाउनु परिरहेको छ,” थापाले भने।

चुनावी गठबन्धन र त्यसपछिका सत्ता समीकरणका कारण दलहरूको पहिचान नै संकटमा परेको उल्लेख गर्दै उनले कांग्रेस अब सरकार बनाउने वा टिकाउने खेलमा मात्र सीमित नहुने बताए। नागरिकले दिएको जनादेशको सम्मान गर्दै सिद्धान्त र लोकतान्त्रिक मूल्यका आधारमा राजनीति अघि बढाउनुपर्नेमा उनले जोड दिए।

“चुनावअघि एक दलसँग गठबन्धन गर्ने र चुनावपछि अर्कोसँग सरकार बनाउने प्रवृत्तिका कारण सरकार र प्रतिपक्षको भूमिका नै अन्योलपूर्ण बनेको छ। अब जनादेशको सम्मान गर्दै सिद्धान्त र लोकतान्त्रिक मूल्यका आधारमा राजनीति अघि बढ्नुपर्छ,” उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

1 Comment
Oldest
Newest Most Voted
Suresh prasad Acharya
Suresh prasad Acharya
1 month ago

यस्ताे बुद्धि पहिलेनै आएकाे भए पार्टीको याे हविगत हुने थिएन । वर्तमान सरकारकाे राम्रो कामको समर्थन र नराम्रो कामकाे बिराेध गर्नु नै पार्टीको हितमा हुनेछ र त्यसले पार्टीलाई सफल बनाउनमा मद्दत नै गर्नेछ ।

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स