नेपाल राष्ट्र बैंकले सेयर बजारमा सकारात्मक प्रभाव पार्ने गरी तिन महत्वपूर्ण निर्णय गरेको छ। राष्ट्र बैंकले आज एकीकृत निर्देशन संशोधन गर्दै:
१. राष्ट्र बैंकले सेयर धितो कर्जामा लागेको २५ करोडको सीमा हटायो
नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा तोकिएको व्यक्तिगत सीमा हटाएको छ।
यसअघि एकल ग्राहकले सबै बैंक तथा वित्तीय संस्थाबाट मिलेर अधिकतम २५ करोड रुपैयाँसम्म मात्र सेयर धितो कर्जा लिन पाउने व्यवस्था थियो। राष्ट्र बैंकले बुधबार नयाँ सर्कुलरमार्फत उक्त सीमा हटाएको हो।
अर्थ मन्त्रालयले गठन गरेको पूँजीबजार सुधार कार्यदलले हालै उक्त सीमा हटाउन सिफारिस गरेको थियो। राष्ट्र बैंकले सोही सिफारिसलाई कार्यान्वयन गर्दै यो निर्णय गरेको हो।
यससँगै अब लगानीकर्ताले सेयरलाई धितो राखी बैंक तथा वित्तीय संस्थाबाट आवश्यक परे जति पनि कर्जा लिन सक्ने भएका छन्।
२. बैंक तथा वित्तीय संस्थाका लागि सेयर कारोबारमा लचकता, होल्ड अवधि अब ६ महिना मात्र
बैंक तथा वित्तीय संस्थाहरूले सेयर किनबेच गर्दा पालना गर्नुपर्ने नियममा नेपाल राष्ट्र बैंकले लचकता ल्याएको छ। राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशन संशोधन गर्दै, पहिले एक वर्षसम्म अनिवार्य रूपमा सेयर होल्ड गर्नुपर्ने प्रावधानलाई घटाएर ६ महिना मात्र कायम गरेको हो।
यसअघि बैंक तथा वित्तीय संस्थाले कुनै कम्पनीको सेयर खरिद गरेपछि कम्तीमा एक वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था थियो।
संशोधित निर्देशन अनुसार, अब बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणमा बिक्री भइसकेका र धितोपत्र विनिमय बजारमा सूचीकृत कम्पनीको सेयर वा डिबेञ्चरमा कम्तीमा ६ महिनाका लागि लगानी गर्नुपर्ने छ।
‘सर्वसाधारणमा सेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा ६ महिनाभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइनेछ । बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठितसंस्थाको शेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन्। धितोपत्र विनिमय बजारमा सूचीकृत भईनसकेको संगठित संस्थाको सेयर वा डिवेञ्चरमा लगानी गरेमा त्यस्तो लगानी गरेको मितिले ३ वर्षभित्र उक्त सेयर तथा डिबेञ्चर सूचीकृत नभएको खण्डमा लगानी भए बराबरको रकम सञ्चित मुनाफा खर्च गरी लगानी समायोजन कोषमा जम्मा गर्नु पर्नेछ । त्यस्तो कोषमा रहेको रकम उक्त सेयर तथा डिबेञ्चर सूचीकृत नभएसम्म उपयोग गर्न पाइनेछैन ।’ संसोधित व्यवस्थामा भनिएको छ।
३. राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले प्राथमिक पूँजीको २० प्रतिशत मात्र लगानी बेच्न पाउने सीमा हटायो
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि लागू गरिएको “प्राथमिक पूँजीको २० प्रतिशतसम्म मात्र लगानी बिक्री गर्न पाउने” व्यवस्था हटाएको छ। राष्ट्र बैंकले आज एक परिपत्र मार्फत “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन संशोधन गर्दै यो सीमा हटाएको हो। राष्ट्र बैंकले यस अघि कायम ‘खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने।’ व्यवस्था हटाएको हो।





प्रतिकृया