अमेरिकामा नयाँ वर्ष मनाइरहेका मानिसको भीडमा ट्रक कुदाउँदै १५ जना मारिए, शंकाको घेरामा को?
अमेरिकाको लुइसियाना प्रान्तस्थित न्यू ओर्लिन्सको बार्बन स्ट्रिटमा नयाँ वर्ष मनाइरहेका सयौं मानिसको भीडमा ट्रक कुदाएर १५ जनाको हत्या भएको छ। स्थानीय समयअनुसार बिहान ३:१५ बजे, फ्रेन्च क्वार्टर भनिने चर्चित क्षेत्रमा एक संदिग्धले ट्रक कुदाउँदै भीडमा गोलीसमेत चलाएका थिए।
घटनामा १५ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन्, जसमा दुई प्रहरी अधिकारी पनि छन्। प्रहरीको जबाफी कारबाहीमा संदिग्ध व्यक्ति मारिएका छन्। उनी ४२ वर्षीय शमशुद दिन जब्बर भएको खुलासा भएको छ। समाचार संस्था रोयटर्सका अनुसार, जब्बर अमेरिकी सेनाका निवृत्त सैनिक हुन्।
घटनास्थलबाट आइएसआइएसको झन्डा फेला परेपछि यो हमला आतङ्कवादी गतिविधि हुन सक्ने आशंका गरिएको छ। राष्ट्रपति जो बाइडेनले यसलाई गम्भीर घटनाका रूपमा लिँदै एफबिआईलाई विस्तृत अनुसन्धान गर्न निर्देशन दिएका छन्।
न्यु ओर्लिन्सको फ्रेन्च क्वार्टर क्षेत्र नयाँ वर्ष मनाउन पर्यटकहरूको प्रमुख गन्तव्य हो। यो सांस्कृतिक रूपमा महत्त्वपूर्ण क्षेत्र बार, सङ्गीत, र नाइट लाइफका लागि परिचित छ। यस्तो त्रासदीपूर्ण घटनाले स्थानीय बासिन्दा र पर्यटकमा गहिरो आघात पुर्याएको छ।
एफबिआई र स्थानीय प्रहरी मिलेर घटनाको अनुसन्धान गरिरहेका छन्। राष्ट्रपति बाइडेनले यस आक्रमणलाई आतङ्कवादका रूपमा सम्बोधन गर्दै सुरक्षा व्यवस्थालाई थप कडा बनाउन निर्देशन दिएका छन्।
(एजेन्सीहरुको सहयोगमा)