राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नेपालको पूँजी बजारको वर्तमान अवस्थाबारे आफ्नो धारणा सार्वजनिक गर्दै, सांसदहरूले सेयर बजारका कम्पनीहरूको सेयर मूल्य तोक्ने, असल वा खराब कम्पनी छुट्याउने, र बजारलाई प्रभावित पार्ने गरी दिने अभिव्यक्तिहरूलाई पूर्णतः अनुचित भनेका छन्। उनले सांसदहरूको मुख्य जिम्मेवारी ऐन नियम बनाउने र तिनको कार्यान्वयनको निगरानी गर्ने मात्र रहेको प्रष्ट पारेका छन्।
सांसद ढकालले हालै केही सांसदहरूले बजारसम्बन्धी व्यक्त गरेका अनुपयुक्त टिप्पणीप्रति खेद प्रकट गर्दै, सरकार र नियमनकारी निकायहरूले पनि बजारमा भइरहेको गैरकानूनी गतिविधिहरूलाई नियन्त्रण गर्न उत्तिकै चनाखो हुनुपर्नेमा जोड दिएका छन्।
बजारको पूँजीकरण र देशको जीडीपीलाई लिएर भइरहेको टीकाटिप्पणीलाई अप्रासंगिक भनेका ढकालले भने, “हाम्रो बजारमा दैनिक कारोबारयोग्य सेयरको मूल्यको आधारमा हिसाब गर्दा लगभग १७ खर्ब मात्र बजार पूँजीकरण रहेको देखिन्छ। राम्रा कम्पनीहरूको सेयरको मूल्य अझै धेरै सस्तो रहेको र आम सर्बसाधारण लगानीकर्ताले पाँच वर्ष अगाडि किनेको मूल्यभन्दा तल रहेकोले अहिले आँत्तिनुपर्ने अवस्था छैन।” यस बिषयमा उनले सरोकारवाला सबैलाई ध्यानाकर्षण गराएका छन्।
सांसद ढकालले पूँजी बजारको सुधार र विस्तारका लागि सरकारको सक्रियता नदेखिएकोप्रति चिन्ता व्यक्त गर्दै, लामो समयदेखि धितोपत्र बोर्डको अध्यक्ष रिक्त रहेको हुँदा बजारको नियमनमा अवरोध आएको बताए। उनले स्वार्थ समूहबाट प्रभावित नभएको सक्षम, योग्य, र स्वच्छ व्यक्तिलाई तत्काल नियुक्त गर्न माग गरेका छन्।
नेपाली पूँजी बजारमा ६३ लाखभन्दा बढी सर्वसाधारणको प्रत्यक्ष संलग्नता रहेको उल्लेख गर्दै, ढकालले आफू सर्वसाधारणको हित र पूँजी बजारको विकासका लागि सधैं लडिरहने प्रण दोहोर्याए। साथै, सांसद ढकालले आम लगानीकर्ताहरूलाई कसैको बहकाउमा नपरी आफ्नै अध्ययन, विश्लेषण, र निर्णयका आधारमा राम्रा कम्पनीहरूमा सुझबुझपूर्ण रूपमा लगानी गर्न अपील गरे।


















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया