रास्वपा बलियो, स्वच्छ र सुदृढ संघीय सरकारको पक्षमा छः उपसभापति वाग्ले

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन ३ गते
रास्वपा बलियो, स्वच्छ र सुदृढ संघीय सरकारको पक्षमा छः उपसभापति वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले बलियो र सुदृढ संघीय सरकार बनाउनुपर्ने बताएका छन्।

बिहीवार संविधान दिवसको अवसरमा पार्टीले आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा बोल्दै उपसभापति वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी बलियो र सुदृढ संघीय सरकारको पक्षमा रहेको बताएका छन्। उनले मुलुक संघीयताको अभ्यासमा गएको भएपनि अझैपनि काम, कर्तव्य र अधिकारको सन्दर्भमा तीन तहका सरकारका बीचमा अन्यौलता सिर्जना भइरहेको बताए। उनले स्थानीय तह र प्रदेश सरकारले पनि संविधानको मर्म अनुसार काम गर्न नसकेको बताए। उनले पालिकाहरुलाई एकीकृत गरेर ५०० वटाभन्दा कम स्थानीय तह बनाउनुपर्ने बताए। प्रदेश तहमा भने समन्वयकारी र छरितो निकाय बनाउनुपर्ने उनले बताए। प्रदेश सभालाई गाउँपालिकाका सदस्यहरु रहेको विधायकी थलो बनाउनुपर्ने उनको भनाई छ। उपसभापति वाग्लेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री बनाएर मन्त्रिमण्डल भने विज्ञहरुको बनाउनुपर्ने बताए।
उनले भने – ‘कुन काम प्रदेश सरकारले गर्ने, कुन काम स्थानीय सरकारले गर्ने भन्नेमा संविधानको स्प्रिट अनुसार काम गर्न सकेनौँ । अहिले फम र फङ्शनमा ठुलो ग्याप देखियो भन्ने कुरा आइरहेको छ । जिम्मेवारीका हिसाबले १७९३ वटा फङ्सनलाई बाँडफाँट गरिएको छ । क्षमता चाहीँ कानूनी, प्रशासनिक र वित्तीयमै एकदमै ठूलो ग्याप भएको हुनाले त्यसको स्प्रिट अनुसार भएको छैन । अहिलेको आम असन्तुष्टि पनि त्यही नै हो । हाम्रो लाइन चाहीँ बलियो, स्वच्छ, सुदृढ संघीय सरकार होस् । स्थानीय पालिकाहरु अब ७५३ वटा पनि चाहिँदैन । ५०० भन्दा मुनिमै जाऔँ । धेरै पालिकाहरु मर्ज भएर आर्थिक दृष्टिले पनि उपयुक्त हुने गरेर अगाडी बढ्न सकिन्छ । समन्वयकारी, छरितो निकाय बिचमा रहोस् । माथि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री मागेपछि तल पनि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुनुपर्यो । विज्ञहरुको मन्त्रिमण्डल र प्रदेश सभाको रुपचाहिँ गाउँपालिकाका सदस्यहरु जो हुनुहुन्छ, त्यहीलाई नै विधायकी फङ्शन दिएर जाँदाखेरी अहिलेको जनगुनासो सम्बोधन गर्न सकिन्छ । शासकिय स्वरुप, समावेशिता र वित्तीय संघीयता यि तिनवटै विषय असाध्यै महत्वपूर्ण छन् ।’

उनले समावेशी, समानुपातिकको प्रतिनिधित्व संविधानले परिकल्पना गरे अनुरुप हुन नसकेको भन्दै यसप्रति धेरै प्रश्नहरु रहेका बताएका छन्। —न्युज एजेन्सी नेपाल

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स