नेपाल राष्ट्र बैंकले यस वर्ष दसैं, तिहार, र छठका लागि सर्वसाधारणलाई नयाँ नोटको सट्टा सुकिला (सफा) नोट वितरण गर्ने निर्णय गरेको छ। गत साता बसेको राष्ट्र बैंक व्यवस्थापन समितिको बैठकले यस निर्णयलाई औपचारिकता दिएको हो।
डिजिटल कारोबारको वृद्धिसँगै बैंकमा थुप्रिएका सुकिला नोटहरूको व्यवस्थापन गर्न कठिनाइ भएपछि यो कदम उठाइएको हो। यस निर्णयले अतिरिक्त खर्च जोगाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।
राष्ट्र बैंकले हरेक वर्ष दसैं, तिहार, छठलगायतका चाडमा सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दै आएको थियो, जसमा ६० देखि ७० अर्ब रुपैयाँ बराबरका नयाँ नोट बाहिरिने गर्थे। यस वर्ष भने नयाँ नोटको सट्टा सुकिला नोट वितरण गर्ने योजना बनाइएको छ।
धेरैजसो सर्वसाधारणले सयभन्दा साना दरका नोट साट्ने गर्दछन् भने बैंक तथा वित्तीय संस्थाले पाँच सय र हजार दरका नोट बढी प्रयोग गर्दै आएका छन्। नयाँ नोटहरूको छपाइमा ठूलो खर्च लाग्ने भएकाले यस वर्ष यो निर्णयले त्यो खर्च पनि घटाउने लक्ष्य राखिएको छ।
नयाँ नोटको माग बढिरहे पनि, प्रयोगयोग्य सुकिला नोट नलिने प्रवृत्तिले राष्ट्र बैंकको ढुकुटीमा ठूलो मात्रामा नोट थुप्रिएको छ। यसलाई व्यवस्थापन गर्न सुकिला नोटहरूको वितरणको तयारी गरिएको हो।



















प्रतिकृया