वर्ल्डलिंकले ९ महिनामा कमायो ८ अर्ब ७२ करोड
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले २०२४ मा ११ अर्ब १२ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो वर्ष २०२३ को तुलनामा ७.७ प्रतिशतले बढी हो र २०२३ मा कम्पनीले १० अर्ब अर्ब ३३ करोड रुपैयाँ कमाएको थियो । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ८ अर्ब ७२ करोड रुपैयाँ आम्दानी गरेको छ, जुन गत वर्षकै सोही अवधिको तुलनामा करिब ९ प्रतिशतले बढी हो।
सर्वोच्च अदालतको टेलिकम लाइसेन्स नवीकरणसम्बन्धी अन्तिम निर्णयपछि यो रेटिङ पुनः पुष्टि गरिएको हो।केयर रेटिङ्स नेपालबाट कम्पनीले दीर्घकालीन २ अर्ब १९ करोड ६० लाख र अल्पकालीन १ अर्ब ७५ करोड रुपैयाँ बराबरको कर्जाको लागि क्रमशः ‘CARE NP A’ र ‘CARE NP A2+’ रेटिङ प्राप्त गरेको छ।
वर्ल्डलिंकको सक्रिय ग्राहक संख्या १० लाख नाघेको भने देशको इन्टरनेट सेवा प्रदायक बजारमा ३२ प्रतिशत हिस्सा रहेको छ। यद्यपि, ग्राहकबाट प्रति महिनाको औसत आम्दानी (ARPU) रु. ९८७ बाट घटेर रु. ८६१ मा झरेको छ।
कम्पनीले नवीनतम प्रविधि जस्तै XGS-PON र Nokia Wi-Fi Beacon प्रयोग गर्दै सेवा सुधारमा जोड दिएको छ भने नयाँ डाटा सेन्टर बनाउन SPV (Special Purpose Vehicle) मोडेल अपनाएको छ। कम्पनीमा विदेशी लगानीपनि बलियो रहेको छ, जहाँ ब्रिटिश इन्टरनेसनल इन्भेस्टमेन्ट र डोल्मा इम्प्याक्ट फन्डबाट क्रमशः १ अर्ब ८ करोड र ९० करोड रुपैयाँ लगानी भइसकेको छ।