पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको छ। नेपाल आयल निगमले हिजो बिहिबार राति १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो।
नयाँ समायोजनअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँले कमी गरिएको निगमले जनाएको छ।
तर, हवाइ इन्धनको मूल्य भने बढाइएको छ। आन्तरिक उडानतर्फ प्रतिलिटर ७ रुपैयाँले वृद्धि गरिएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंमा प्रतिकिलोलिटर ४६ अमेरिकी डलरले मूल्य बढाइएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
नयाँ मूल्यसूची लागू भएसँगै काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर २१७ रुपैयाँ कायम भएको छ। यसअघि काठमाडौं, दिपायल र पोखरामा २१९ रुपैयाँ रहेको पेट्रोलको मूल्य अब घटेको हो। त्यस्तै, सुर्खेत र दाङमा यसअघि २१८ रुपैयाँ रहेको पेट्रोलको मूल्य घटेर २१६ रुपैयाँ पुगेको छ।
त्यसैगरी हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर ७ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर ४६ डलरले मूल्य वृद्धि गरिएको छ। खाना पकाउने एलपी ग्यासमा प्रति सिलिन्डर १५० रुपैयाँ बढाइएको छ। मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा १ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ।


प्रतिकृया