सान्भि इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) यसै साताको अन्त्यतिर बाँडफाँट गर्ने तयारी गरिएको छ। बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार बाँडफाँटका लागि अझै केही प्रक्रिया बाँकी रहेकाले मिति यकिन नभए पनि बाँडफाँट छिट्टै हुनेछ।
सान्भिको आइपीओ अत्यधिक माग भएको छ। कम्पनीले जेठ ९ देखि १३ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ लाख १५ हजार ३०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि जारी गरेको थियो, जसको कुल मूल्य २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबर हुन्छ।
तर, आइपीओमा माग अत्यधिक देखिएको छ। कुल २१ लाख ८ हजार २३२ जना लगानीकर्ताले २ करोड ५८ लाख ९० हजार ६२० कित्ताका लागि आवेदन दिएका छन्। यो माग कम्पनीले निष्काशन गरेको सेयरको करिब १०.७१ गुणा बढी हो।
यसअनुसार, गोलाप्रथामार्फत मात्रै बाँडफाँट हुनेछ र करिब २ लाख ४१ हजार ५३० जनाले मात्र सेयर पाउनेछन्। बाँकी १८ लाख ६६ हजार ७०२ जनाको हात भने खाली हुनेछ।
कम्पनीको वित्तीय विश्वसनीयताका आधारमा केयर रेटिङ्स नेपालले सान्भि इनर्जीलाई ‘CARE NP BB+ (Issuer Rating)’ प्रदान गरेको छ। यस रेटिङले कम्पनीको समयमै वित्तीय दायित्व पुरा गर्ने क्षमतामा “औसत जोखिम” रहेको संकेत गर्छ। यो रेटिङ २०८१ पुस ११ मा प्रदान गरिएको हो, जुन २०८२ फागुन १५ गतेसम्म मान्य रहनेछ।



















प्रतिकृया