ग्रीन डेभलपमेन्ट बैंकले आफ्नो १२औं वार्षिक साधारण सभा चैत २७ गते बस्दैछ। सभा बागलुङको, हरिशंकर रोड, होटल पिस प्यालेसमा बिहान ११ बजे सुरु हुनेछ।सभामा आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई कुल ६.०५ प्रतिशत अर्थात् ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३० प्रतिशत नगद लाभांश पारित हुनेछ। बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ५६ करोड ९६ लाख ९८ हजार रुपैयाँ पुग्नेछ। त्यसपछि १ः१.१०७१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ।
साथै, सम्भावित मर्जर तथा एक्विजिशनका लागि उपयुक्त वित्तीय संस्था पहिचान गर्ने, सम्झौतापत्रमा हस्ताक्षर गर्ने तथा आवश्यक प्रक्रिया अघि बढाउने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विषयमा निर्णय गरिनेछ।सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारण गर्नेछ। साथै, सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना नयाँ सञ्चालक चयन गर्ने प्रस्ताव पनि पेश गरिनेछ।
साधारण सभा तथा लाभांश प्रयोजनका लागि बैंकले चैत १५ गतेलाई बुक क्लोज गर्नेछ। जस अनुसार, चैत १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।
















प्रतिकृया