ब्रेक लगाएर राखिएका थुप्रै काम ‘थ्रु’ गरेका छौं: प्रधानमन्त्री ओली
उनले आफनो कार्यकालभित्रै सिद्धबाबा सुरुङमार्ग ब्रेक–थ्रु भएको काठमाडौं–तराई द्रूत मार्ग अन्तर्गत मकवानपुरको धेद्रे सुरुङ पनि ब्रेक थ्रु भएको बताएका छन् ।
ओलीले चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको आयोजना जोगवनी–किमाथांका सडकमार्ग केही दिनअघि मात्रै ब्रेक–थ्रु भएको उलेख्ख गरे । उनले ठेकेदार कम्पनीले काम छोडेपछि बुटवल–नारायणगढ खण्डको सडक निर्माणको काम आफू प्रधानमन्त्री बन्दा अलपत्र रहेको र अहिले काम द्रूत गतिमा अघि बढेको बताए । सरकारगठन हुनुअघि धुलो उडिरहेको मुग्लिन-पोखरा सडक चिल्लो र आकर्षक भएको पनि बताए ।
खेल हाम्रा युवाहरूको जीवनशैली बनेको र यस पटक क्याबिनेटको पहिलो बैठकले कीर्तिपुरको क्रिकेट खेलमैदानलाई रंगशाला बनाउने तथा त्यसमा फ्लड लाइट जोड्ने निर्णय गरेको प्रधानमन्त्री ओलीले स्मरण गरे।
‘त्यसका लागि टेण्डर आह्वान भएको छ। तोकिएको दिनभित्रै त्यसलाई सम्पन्न गर्नेगरी काम अघि बढिरहेको छ,’ उनले भने, ‘रंगशालाकै कुरा गर्दा सुर्खेतमा आधुनिक कर्णाली रंगशाला तयार भएको छ। देशको दुर्गम भूगोल मानिने कर्णालीमा आधुनिक रंगशाला हाम्रा युवाको भविष्यका लागि सुखद् सन्देश हो। विकास निर्माणका काममा ‘ब्रेक–थु’ मात्र होइन ‘ब्रेक’ लगाएर राखिएका कतिपय कामलाई पनि हामी आएपछि ‘थ्रु’ गरेका छौं।’