उपायले १ अर्ब २० करोडको लगानीमा नेपालकै पहिलो तेस्रो पक्ष वयरहाउजिङ्ग बनाउँदै

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र ११ गते
उपायले १ अर्ब २० करोडको लगानीमा नेपालकै पहिलो तेस्रो पक्ष वयरहाउजिङ्ग बनाउँदै

नेपालमा पहिलो पटक तेस्रो पक्ष भण्डारण सेवा (Third-Party Warehousing) प्रदान गर्ने उद्देश्यले उपाय वयरहाउजिङ्ग प्रा.लि. द्वारा प्रवद्र्धित परियोजना निर्माण हुने भएको छ। यो परियोजना बागमती प्रदेश, काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका, नासिकास्थित सांगामा निर्माण हुनेछ। परियोजना सम्पन्न भएपछि गोदाम व्यवस्थापन, ढुवानी, प्याकेजिङ, लेबलिङ तथा आपूर्ति व्यवस्थापन जस्ता सेवाहरू उपलब्ध गराइनेछ।

तेस्रो पक्ष भण्डारण सेवा (Third-Party Warehousing) अन्तर्गत व्यवसाय तथा उद्योगहरूले आफ्ना उत्पादन तथा सामाग्रीहरू कम्पनीको आफ्नै गोदाम मा राख्नुको सट्टा, एक व्यावसायिक भण्डारण सेवा प्रदायक (Professional Warehousing Service Provider) संस्थाको गोदाम प्रयोग गर्ने गर्छन्। यस्तो सेवाले स्टक व्यवस्थापन (Inventory Management) लाई प्रभावकारी बनाउने, आपूर्ति शृंखला (Supply Chain) सहज गर्ने, लागत (Cost) घटाउने र कार्य दक्षता (Operational Efficiency) बढाउने सहयोग पुर्‍याउँछ।

यस परियोजनाका लागि सिटिजन्स बैंक इन्टरनेसनल लि. को नेतृत्वमा माछापुच्छ्रे बैंक लि. सहित दुई बैंकहरूबाट ९५ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन्। चैत्र १० गते, आइतबार, उपाय वयरहाउजिङ्ग प्रा.लि. र लगानीकर्ता बैंकहरूबीच सहवित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर भएको छ।

परियोजनाको अनुमानित लागत १ अर्ब २० करोड ७ लाख रुपैयाँ रहेको छ, जसमा बैंकहरूले ८५ करोड रुपैयाँ ऋण लगानी गर्नेछन् भने बाँकी ३५ करोड रुपैयाँ प्रवद्र्धकहरूबाट जुटाइनेछ। सिटिजन्स बैंक इन्टरनेसनलले ६० करोड रुपैयाँ र माछापुच्छ्रे बैंकले ३५ करोड रुपैयाँ ऋण प्रदान गर्नेछन्। परियोजना आगामी दुई वर्षभित्र सम्पन्न गरी सेवा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

सम्झौता कार्यक्रममा बोल्दै उपाय वयरहाउजिङ्ग प्रा.लि.का अध्यक्ष सुमन रायमाझीले परियोजनाले नेपालमा आधुनिक भण्डारण तथा आपूर्ति व्यवस्थापनको नयाँ युगको सुरुवात गर्ने बताए। उनले कम्पनीले आवश्यक सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी निर्धारित समयमै निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे।

सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बैंक स्थापनाकालदेखि नै जलविद्युत, हरित ऊर्जा, अस्पताल, उत्पादन लगायत विभिन्न क्षेत्रमा सहवित्तीयकरण कर्जा प्रवाह गर्दै आएको उल्लेख गर्दै, नेपालमा पहिलो पटक तेस्रो पक्ष भण्डारण सेवा परियोजनामा बैंकको संलग्नता महत्त्वपूर्ण उपलब्धि भएको बताए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स