युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले अवितरित संस्थापक समूहअन्तर्गतका ६३ हजार ८४७ कित्ता हकप्रद सेयर सबै इच्छुक व्यक्ति तथा संस्थाले खरिद गर्न सक्ने गरी पुनः लिलामीमा बिक्रीमा राखेको छ।
कम्पनीले १००ः१० अनुपातमा हकप्रद सेयर निष्काशन तथा बाँडफाँड गरेपछि बाँकी रहेको उक्त सेयर यसअघि जेठ २९ गतेदेखि असार ८ गतेसम्म केवल साविकका संस्थापक सेयरधनीका लागि लिलामीमा राखेको थियो। तर, उक्त अवधिमा कुनै पनि बोलपत्र नपरेकाले अब सर्वसाधारणसहित सबै योग्य व्यक्ति तथा संस्थाले आवेदन दिन सक्ने गरी पुनः लिलामी खुला गरिएको हो।
लिलामीमा सहभागी हुन इच्छुकले असार २५ गतेदेखि साउन १ गतेसम्म बोलपत्र पेश गर्नुपर्नेछ। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। आवेदन दिँदा न्यूनतम १ हजार कित्ताका लागि बोलपत्र पेश गर्नुपर्नेछ भने सोभन्दा माथि १० ले भाग जाने संख्यामा वा सम्पूर्ण सेयरका लागि पनि आवेदन दिन सकिनेछ।
बोलपत्र फाराम बिक्री प्रबन्धक एलएस क्यापिटल, कमलपोखरीबाट प्राप्त तथा बुझाउन सकिनेछ। साथै लक्ष्मी सनराइज बैंकका विराटनगर (हनुमानदास सडक), वीरगञ्ज (आदर्शनगर), जनकपुर (भानुचोक), हेटौंडा (पारिजात पथ), नारायणघाट (बालकुमारी चोक), पोखरा (न्यूरोड), बुटवल (मिलनचोक), नेपालगञ्ज (न्यूरोड), वीरेन्द्रनगर (वीरेन्द्रचोक) र धनगढी (शहीदगेट) शाखाबाट पनि बोलपत्र फाराम प्राप्त तथा बुझाउन सकिने व्यवस्था गरिएको छ।

प्रतिकृया